कम्पनीहरूको सेयर मूल्यलाई केले डोहोर्याइरहेको हुन्छ?
कम्पनीको नाफा, नोक्सान, लाभांश वितरण, बजारमा रहेका लगानीकर्ताको मनोविज्ञान, निक्षेपको ब्याजदर र नीतिगत व्यवस्थाहरू— यी सेयर मूल्यलाई डोहोर्याउने विभिन्न कारण हुन्।
यिनै कारण बजारमा सेयरको माग र आपूर्तिमा प्रभाव पार्छ।
यसबाहेक बजारमा रहेका कम्पनीहरूको सेयर संख्याले पनि माग र आपूर्तिमा प्रभाव पार्छ। यसै कारण अहिले लघुवित्त कम्पनीहरूमा दुई कम्पनीको मूल्य सबभन्दा धेरै छ।
यी कम्पनी हुन् — उपकार लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था।
उपकारको सेयर मूल्य तीन हजार चार सय ६० रूपैयाँ छ। आत्मनिर्भरको ६ हजार एक सय १५ रूपैयाँ छ।
पहिले उपकार लघुवित्त वित्तीय संस्थाको कुरा गरौं।
२०७९ सालमा सर्वसाधारणमा सेयर जारी गरेर उपकार सेयर बजारमा प्रवेश गरेको हो।
आर्थिक वर्ष २०७८–७९ मा नाफा भएपछि यसले ६१.७५ प्रतिशत बोनस सेयरसहित ६५ प्रतिशत लाभांश दिएको थियो। त्यसयता उपकारले लाभांश दिएको छैन।
२०८१ माघमा उपकारको सेयर हालसम्मकै उच्च, ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसयता एक पटक चार हजार रूपैयाँमाथि सेयर कारोबार भएको थियो।
२०८०–८१ को दुई त्रैमासमा लगातार नोक्सानमा रहेको उपकार पछिल्लो समय भने नाफामा छ। २०८२–८३ को पहिलो त्रैमासमा यसले ७७ लाख २७ हजार रूपैयाँ नाफा कमाएको थियो। यसको नाफा ५२ लाख रूपैयाँबाट बढेको हो।
उपकारको प्रतिसेयर आम्दानी २९ रूपैयाँ ११ पैसा छ। प्रतिसेयर नेटवर्थ दुई सय ३१ रूपैयाँ छ। निष्क्रिय कर्जा भने ५.४५ प्रतिशत छ।
आर्थिक वर्ष २०८०–८१ को लाभांश घोषणा गरिनसकेकाले उपकारसँग बाँड्न मिल्ने रकम एक करोड २० लाख रूपैयाँ बाँकी छ। यसबाट उपकारले चाहेमा ११.३२ प्रतिशत लाभांश दिन सक्छ।
यसको सेयर मूल्य उच्च हुनुमा चुक्ता पुँजी पनि कारण हो।
उपकारको चुक्ता पुँजी १० करोड ६१ लाख रूपैयाँ छ। सर्वसाधारणमा मात्रै ३५ प्रतिशत अर्थात् तीन लाख ७१ हजार कित्ता मात्रै छ। त्यसैले पनि यो सेयरको आपूर्ति कम छ र मूल्य उच्च छ।
सूचीकृत भएको पहिलो वर्ष नै उच्च लाभांश दिएकाले यसको मूल्यले ६ हजारमाथिको स्तर कायम गरेको थियो। पुरानो मूल्य इतिहासले पनि उपकारको मूल्य अझ उच्च नै राख्न सहयोग पुगेको छ।
पाँच दिने र २० दिने मुभिङ एभरेजले अहिले उपकारको मूल्य बियरिस प्रवृत्तिमै रहेको संकेत गर्छ।
अब चर्चा गरौं आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको।
२०७९ को अन्त्यमा सर्वसाधारणमा सेयर जारी गरेर आत्मनिर्भर सेयर बजारमा प्रवेश गरेको हो।
आत्मनिर्भरले दुई वर्ष वार्षिक १५ प्रतिशतको दरमा लाभांश दिँदै आएको छ। आर्थिक वर्ष २०८०–८१ का लागि लाभांश घोषणा गरिसकेको छैन।
गत कात्तिक ९ गते आत्मनिर्भरको सेयर हालसम्मकै उच्च, ६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा नोक्सानमा रहेको आत्मनिर्भरले चालु आर्थिक वर्ष २०८२–८३ को यही अवधिमा एक करोड १४ लाख रूपैयाँ नाफा कमाएको थियो। यसको नाफा ४३ लाख रूपैयाँ नोक्सानबाट बढेको हो।
अहिले आत्मनिर्भरको निष्क्रिय कर्जा १२.८३ प्रतिशत छ।
आर्थिक वर्ष २०८०–८१ को लाभांश घोषणा गरिनसकेकाले आत्मनिर्भरसँग २३ करोड ९१ लाख रूपैयाँ सञ्चित कोषमा रकम छ। आत्मनिर्भरले चाहेमा यसबाट पनि लाभांश दिन सक्छ।
चुक्ता पुँजीको तुलनामा सञ्चिति उच्च भएकाले पनि आत्मनिर्भरमा लगानीकर्ता आकर्षित छन्। त्यसबाहेक यसको चुक्ता पुँजी न्यून छ। यसको चुक्ता पुँजी ७ करोड ८३ लाख रूपैयाँ छ।
सर्वसाधारणमा ३२.६३ प्रतिशत अर्थात् दुई लाख ५५ हजार कित्ता मात्रै सेयर छ। त्यसैले पनि आत्मनिर्भरको सेयर आपूर्ति कम छ र मूल्य उच्च छ।
पाँच दिने र २० दिने मुभिङ एभरेजले अहिले आत्मनिर्भरको मूल्य पनि बियरिस प्रवृत्तिमै रहेको संकेत गर्छ।
दुवै कम्पनीमा पाँच दिने मुभिङ एभरेज रेखा प्रतिरोध बन्दै आएको रेखाचित्रले देखाउँछ।