मंसिर महिनामा मात्रै १८३ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको छ।
कात्तिक महिनासम्म ६८७ अर्ब रूपैयाँको रेमिटेन्स आएकोमा मंसिर अन्तिमसम्म आइपुग्दा कुल रेमिटेन्स ८७० अर्ब रूपैयाँ पुगेको हो।
यससँगै चालु आर्थिक वर्षमा रेमिटेन्सको वृद्धिदर निरन्तर बलियो बन्दै गएको देखिएको छ।
राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ३१ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले मात्रै बढेको थियो।
प्रतिवेदनअनुसार २०८२ मंसिर महिनामा मात्रै विप्रेषण आप्रवाह १८३ अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह ११८ अर्ब ७९ करोड रहेको थियो।
प्रतिवेदनअनुसार अमेरिकी डलरमा गणना गर्दा पाँच महिनामा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह ३.४ प्रतिशतले बढेको थियो।
प्रतिवेदनअनुसार सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो।