मंसिर मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब रूपैयाँ नाघेको छ।
यस अवधिसम्मको सञ्चिति २१.७ महिनासम्मको वस्तु आयात र १८.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ।
राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २०८२ मंसिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको हो।
अमेरिकी डलरमा गणना गर्दा असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति मंसिर मसान्तमा १३.५ प्रतिशतले बढेर २२ अर्ब १३ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति असार मसान्तको २४ खर्ब १४ अर्ब ६४ करोडबाट बढेर मंसिर मसान्तमा २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ, जुन १८.७ प्रतिशतको वृद्धि हो।
प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ। असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको यस्तो सञ्चिति मंसिर मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ३५ अर्ब पुगेको छ।
प्रतिवेदनअनुसार मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।
प्रतिवेदनअनुसार पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।
प्रतिवेदनअनुसार विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५२.४ प्रतिशत पुगेको छ।
यस्तै, कुल आयातसँगको अनुपात १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९.४ प्रतिशत रहेको छ। अघिल्लो असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।