अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा सुनको मूल्य भने एकै वर्षमा उल्लेखनीय रूपमा बढेको छ।
राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८१ मंसिर मसान्तमा प्रति ब्यारल ७४.८९ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ मंसिर मसान्तमा १७.८ प्रतिशतले घटेर ६१.५५ अमेरिकी डलरमा झरेको छ।
तेलको मूल्य घट्नुले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा लागतमा दबाब कम भएको संकेत गरेको छ। यसको असर आयात लागत र मूल्यवृद्धिमा समेत पर्न सक्ने देखिन्छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भने तीव्र रूपमा बढेको छ। २०८१ मंसिर मसान्तमा प्रतिऔंस २६५९.०५ अमेरिकी डलर रहेको सुनको मूल्य २०८२ मंसिर मसान्तमा ६२.३ प्रतिशतले वृद्धि भई ४३१५.८५ अमेरिकी डलर पुगेको छ।
प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, भू-राजनीतिक जोखिम र सुरक्षित लगानीको खोजी बढ्नुका कारण सुनको मूल्य उच्च दरले बढेको देखिन्छ।