प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पुँजी बजारमा देखिएका समस्या समाधान गर्दै बजारलाई व्यवस्थित, पारदर्शी र आधुनिक बनाउन सम्बन्धित निकायलाई पाँचबुँदे निर्देशन दिएको छ।
समितिले बजारमा हुने अस्वाभाविक चलखेल तथा कृत्रिम उतारचढाव नियन्त्रण गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई प्रभावकारी अनुगमन तथा कारबाही गर्न निर्देशन दिएको छ।
सेयर बजारमा चलखेल गर्ने तथा बजारलाई प्रभावित पार्ने कम्पनी वा व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न पनि समितिले भनेको छ।
त्यस्तै, लामो समयदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद रिक्त रहेको भन्दै समितिले चासो व्यक्त गरेको छ।
सिइओ पद रिक्त हुँदा बजार व्यवस्थापन तथा सञ्चालनमा असर पर्न सक्ने भन्दै दुवै संस्थामा पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई समितिले निर्देशन दिएको छ।
पुँजी बजारको विकास र आधुनिकीकरणका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा समेत समितिले जोड दिएको छ।