सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको 'रिस्क सेयरिङ' (जोखिम साझेदारी) सुविधासम्बन्धी सम्झौता भएको छ।
आइएफसीको 'स्मल लोन ग्यारेन्टी प्रोग्राम' (एसएलजिपी) अन्तर्गत भएको यस सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम कर्जाको ५० प्रतिशत जोखिम आइएफसीले वहन गर्नेछ।
नेपालमा आइएफसीको यो पहिलो जोखिम साझेदारी पहल हो।
यस व्यवस्थाले देशभरका साना तथा मझौला उद्यमीहरूलाई कर्जा प्रवाह र विस्तार गर्न बैंकको क्षमतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ।
सम्झौताबारे जानकारी दिँदै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले वर्तमान चुनौतीपूर्ण आर्थिक परिस्थितिमा यो साझेदारीले साना व्यवसायीहरूलाई सहज कर्जा प्रवाह गर्न सहयोग पुग्ने बताए।
उनले विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै उद्यमशीलतालाई प्रोत्साहन गर्न, रोजगारी सिर्जना गर्न र मुलुकको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउन बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।
सिद्धार्थ बैंक र आइएफसीबीच सन् २०१४ देखि नै व्यावसायिक सहकार्य रहँदै आएको छ।
यसअघि सन् २०२३ मा बैंकले आइएफसीमार्फत ५ करोड ५० लाख अमेरिकी डलरको सिन्डिकेटेड कर्जा सुविधा लिएको थियो।
यसबाहेक बैंकले जोखिम व्यवस्थापन, लैंगिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा समेत आइएफसीसँग संस्थागत परामर्श सेवा लिँदै सहकार्यलाई निरन्तरता दिँदै आएको छ।