अहिले सरकारी प्रयासपछि पनि सेयर बजारमा अपेक्षा गरिए अनुसार सुधार हुन सकेको छैन। बजार सामान्य उतारचढावमै छ।
त्यसैले यस्तो बेला बजारमा कस्तो लगानी रणनीति बनाउनु सही होला?
एक ब्रोकर भन्छन्, ‘अहिले बजारमा लाभांश घोषणा गरेर बुक क्लोज हुन बाँकी रहेका वा लाभांश दिनसक्ने सम्भावना भएका कम्पनी छान्नुपर्छ।'
हामीले यसअघि बजारमा लाभांश घोषणा गरिसकेका र त्यसको मूल्यमा कस्तो प्रभाव देखियो भन्ने समाचार प्रकाशन गरिसकेका छौं।
लाभांश घोषणा गरिसकेका कम्पनीहरूमा धेरैको मूल्यमा १० प्रतिशत पनि प्रभाव नपरेको देखिएको छ। तर अन्ततः अहिले यस्ता कम्पनीमा लगानी गर्नेले नै 'बजारमा जित्ने' ती ब्रोकरको तर्क छ।
अहिले पनि लाभांश घोषणा गर्न बाँकी कम्पनीहरू छन्। निरन्तर लाभांश दिएका मात्रै होइन, केही वर्षको अन्तरालपछि बल्ल लाभांश क्षमता देखिएका कम्पनी पनि छन्।
यसैमध्ये दुई कम्पनीको चर्चा यहाँ गरिएको छ।
लुम्बिनी विकास बैंक
आर्थिक वर्ष २०८१–८२ मा लाभांश नदिएको यस बैंकले यस पटक नाफा रकमबाट १६.९९ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखाएको छ।
यसअघि आर्थिक वर्ष २०८०–८१ मा यसले ३ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश दिएको थियो।
गत आर्थिक वर्ष २०८२–८३ मा लुम्बिनीको नाफा ३.५२ गुणाले वृद्धि भएको छ। यसअघि २४ करोड ११ लाख रूपैयाँ कमाएको लुम्बिनीले ८५ करोड १० लाख रूपैयाँ नाफा गरेको छ।
यसको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर एक अर्ब ९९ करोड रूपैयाँ पुगेको छ। यसअघि यसले ७७ करोड रूपैयाँ कर्जा नोक्सानी व्यवस्था राखेकामा यस पटक केही घटेको छ। यसपालि १३ करोड रूपैयाँ मात्रै कर्जा नोक्सानी व्यवस्था राखेकाले नाफामा सुधार भएको हो।
लुम्बिनीको निष्क्रिय कर्जा भने केही बढेको छ। यस्तो कर्जा अनुपात ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ। यसको प्रतिसेयर आम्दानी ६.६५ रूपैयाँबाट बढेर २३ रूपैयाँ ४८ पैसा पुगेको छ।
गत आर्थिक वर्ष यसको पुँजीकोष अनुपात हरेक त्रैमासमा नियामकीय प्रावधानभन्दा धेरै छ। यो असारमा पनि यो अनुपात ११.३१ प्रतिशत छ।
यसलाई पनि लाभांश दिनै समस्या नहुन सक्छ। राष्ट्रिय स्तरका विकास बैंकहरूको प्राथमिक पुँजीको आधारमा कम्तीमा यो अनुपात ६ प्रतिशत हुनुपर्छ।
अहिले लुम्बिनीको ४७४ रूपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो केही समयदेखि यसको मूल्य ५०० रूपैयाँ आसपासमा प्रतिरोध पाइरहेको छ।
एक्सेल डेभलपमेन्ट बैंक
एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७–७८ देखि लाभांश दिन सकेको छैन। सो समय ८.५ प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिएको थियो।
अहिले नाफापछि यसले नाफा रकमबाट १४.३८ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखाएको छ।
यसले ढिलो साधारण सभा गर्ने भएकाले पनि हाल लाभांश प्रस्ताव गरिसकेको छैन। गत भदौमा यसले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण पारित गर्दै २० औं साधारण सभा गरेको थियो।
२०८०–८१ देखि विभिन्न त्रैमासमा यो नोक्सानमा गए पनि वर्षअन्त्यमा भने नाफामा देखिने गरेको थियो। गत आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासदेखि (कात्तिकदेखि असारसम्म) भने यो निरन्तर नाफामा देखिएको छ।
गत आर्थिक वर्ष २०८२–८३ मा एक्सेलको नाफा २२८ गुणाले वृद्धि भएको छ। यसअघि १३ लाख रूपैयाँ कमाएको यसले यसपालि ३० करोड ९४ लाख रूपैयाँ नाफा गरेको छ।
आम्दानीको मुख्य आधार खुद ब्याज आम्दानी नै करिब १५ प्रतिशत बढेर ६४ करोड रूपैयाँ पुगेको छ। यसअघि राखेको १९ करोड रूपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रावधान) रकम फिर्ता (राइटब्याक) गरेकाले पनि नाफा रकम बढ्न सहयोग पुगेको हो।
यसको निष्क्रिय कर्जा ६.६९ प्रतिशतबाट घटेर ४.५७ प्रतिशत भएको छ। प्रतिसेयर आम्दानी ०.११ रूपैयाँबाट बढेर २४ रूपैयाँ ७६ पैसा पुगेको छ।
गत आर्थिक वर्ष यसको पुँजीकोष अनुपात हरेक त्रैमासमा नियामकीय प्रावधानभन्दा धेरै छ। यो असारमा पनि यो अनुपात १२.३६ प्रतिशत छ।
खराब कर्जामा सुधार र प्राथमिक पुँजीकोषमा कम दबाब रहेको एक्सेललाई लाभांश दिन समस्या नहुने देखिन्छ।
कति दरमा लाभांश दिनेछ भन्ने कुरा सञ्चालक समितिको निर्णय र राष्ट्र बैंकको स्वीकृतिपछि मात्रै थाहा हुनेछ।
बैंकहरूले अहिले सार्वजनिक गरेको वित्तीय विवरण अपरिष्कृत हो। राष्ट्र बैंकले बैंकहरूको वित्तीय विवरणको आधारमा आवश्यक देखिएमा प्रावधान रकम थप्नसमेत लगाउन सक्छ। यसले पनि लाभांश दरमा प्रभाव पार्न सक्छ।
हाल एक्सेलको सेयर ५७४ रूपैयाँमा कारोबार भइरहेको छ।