सुलभ अग्रवालको कामाख्या फिनकर्प कम्पनीको सेयर मूल्य एकाएक आठ गुणा बढ्यो।
२०७८ वैशाख ३१ मा अंकित मूल्य एक सय रूपैयाँ रहेको यसको मूल्य असार १७ गतेसम्ममा आठ सय रूपैयाँ पुग्यो।
कम्पनीले कारोबार नै सुरू नगर्दै यो मूल्य बढाउने निर्णय कसरी भयो? र, त्यसका लागि कम्पनीसँग के प्रमाण छन्?
यिनै प्रश्नको जवाफ खोज्दै कम्पनी रजिस्ट्रारको कार्यालयले व्यवसायी सुलभ अग्रवालको कामाख्या फिनकर्प प्रालिलाई सात दिनभित्र लिखित स्पष्टीकरण दिन भनेको छ।
कम्पनी रजिस्ट्रारको कार्यालयले कामाख्या फिनकर्पका नाममा सार्वजनिक सूचना जारी गर्दै कम्पनीको सेयर मूल्यमा भएको परिवर्तनसँगै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरको जफत तथा हस्तान्तरण प्रक्रियाबारे समेत प्रमाणसहित जवाफ मागेको हो।
त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रारको कार्यालयले काठमाडौं महानगरपालिका–१, नक्सालमा दर्ता कार्यालय रहेको कामाख्या फिनकर्पको नाममा सार्वजनिक सूचना जारी गर्दै कम्पनीको सेयर मूल्य र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरसम्बन्धी कारोबारबारे प्रमाणसहित जवाफ मागेको हो।
उच्च अदालत पाटनमा विचाराधीन मुद्दाको फाइल कम्पनी रजिष्ट्रारको कार्यालयमा फिर्ता आएपछि उक्त सूचना जारी गरिएको सूचनामा उल्लेख छ।
सूचनाअनुसार कम्पनी दर्ता हुँदा प्रतिसेयर मूल्य १ सय रूपैयाँ कायम रहेकोमा पछि प्रतिसेयर मूल्य आठ सय रूपैयाँ पुगेको विषयमा त्यसको आधार, कारण र प्रमाण पेश गर्न भनिएको छ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर जफत तथा हस्तान्तरणको प्रक्रिया, कामाख्या फिनकर्पको प्रबन्धपत्र तथा नियमावली र कम्पनी ऐन, २०६३ को पालना भए/नभएको सम्बन्धमा आवश्यक प्रमाण बुझाउन कार्यालयले निर्देशन दिएको छ।
सम्बन्धित पक्षलाई सुनुवाइको पर्याप्त अवसर प्रदान गरी कानुनबमोजिम निर्णय गर्नुपर्ने भन्दै उच्च अदालतबाट मिसिल फिर्ता आएपछि कम्पनीको नाममा यसअघि पठाइएको म्याद सूचनाको जवाफ प्राप्त नभएकाले पुनः सूचना प्रकाशित गरिएको कार्यालयले जनाएको छ।
सूचनामा म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र लिखित प्रतिक्रिया र कानुनबमोजिमका प्रमाणसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा स्वयं उपस्थित हुन वा कानुनबमोजिमको प्रतिनिधि र कानुन व्यवसायीमार्फत उपस्थित हुन भनिएको छ।
तोकिएको अवधिमा जवाफ नदिए कानुनबमोजिम निर्णय हुने र त्यस विषयमा थप उजुरबाजुर नलाग्ने चेतावनीसमेत दिइएको छ।
कामाख्या फिनकर्प र हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयरलाई लिएर यसअघि पनि विवाद सार्वजनिक भएको थियो।
यो पनि:
दिपक भट्ट जोडिएका ८ कम्पनीका संस्थापक सेयरधनीहरूको विवरण छानबिनमा, कारण के?