ग्लोबल आइएमई बैंकको २० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।
सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो।
यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रूपैयाँ रहेको छ।
स्वीकृत बोनस सेयर वितरणसँगै बैंकको चुक्तापुँजी ३९ अर्ब ६८ करोड ६० लाख रूपैयाँ पुगेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयरधनीहरूको विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरे।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।