एनआइसी एसिया बैंकका ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्ट ग्राहकले अब नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे अन्तर्गतका भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताबाट सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्।
बैंकका अनुसार डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यले साइबरसोर्स पेमेन्ट गेटवेमा आबद्ध तथा आबद्ध हुन चाहने व्यवसायिक ग्राहकले विश्वभर रहेका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्न सक्नेछन्।
एप्पल पे र गुगल पे विश्वव्यापी रूपमा प्रयोग हुने मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्।
यी माध्यमबाट अन्तर्राष्ट्रिय ग्राहकले भौतिक कार्ड प्रयोग गर्नुपर्ने झन्झट हटाउँदै आफ्नो कार्ड विवरण एप्पल पे तथा गुगल एन्ड्रोइड मोबाइलमा टोकनाइज गरी सरल तरिकाले भुक्तानी गर्न सक्नेछन्।
बैंकका अनुसार होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स तथा आइटी क्षेत्रलगायतका मर्चेन्ट ग्राहकले बैंकको ई–कमर्स पेमेन्ट गेटवे साइबरसोर्समा आबद्ध भई अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे र गुगल पेमार्फत भुक्तानी लिन सक्नेछन्।
यस सुविधाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित पेमेन्ट एक्सपिरियन्स प्रदान गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्स, आइटी, सामान निर्यातलगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग गर्ने अपेक्षा गरिएको छ।
नेपालमै पहिलो पटक सुरू भएको यस भुक्तानी सेवाले भुक्तानी प्रक्रियालाई थप सहज र सरल बनाउनुका साथै मर्चेन्ट ग्राहकको व्यवसायमा टेवा पुग्ने बैंकले जनाएको छ।
साथै, सुरक्षित भुक्तानी प्रणालीमार्फत नेपालको पर्यटन प्रवर्द्धन समेतमा सकारात्मक योगदान पुग्ने र देशको अर्थतन्त्र तथा अन्तरदेशीय भुक्तानी क्षेत्रमा नयाँ आयाम थपिने बैंकको विश्वास छ।