महत्त्वपूर्ण सूचकहरूले एकैपटक लगानीका पक्षमा उपयुक्त अवसर देखिएको विज्ञ तथा सरोकारवालाले बताएका छन्।
विशेषगरी जग्गादेखि कच्चा पदार्थसम्मको मूल्य घटेको अवस्था, मूल्य वृद्धिदर न्यूनतम विन्दुमा सीमित रहनु, बैंक ब्याजदर दशककै तल्लो तहमा झर्नु र ऋण सहज रूपमा उपलब्ध हुनु लगानीको लागि उपयुक्त समय देखिएको हो।
यी सबै आधार एकै समयमा मिल्नु सामान्य अवस्था नभएको विज्ञहरूले बताउने गरेका छन्।
यही कारण लगानीका लागि दुर्लभ अवसरको रूपमा चित्रण गरिएको छ। मुख्यत: ४ कारणले यो अवसर देखिएको हो।
पछिल्ला तीन/चार वर्षदेखि विभिन्न क्षेत्रमा जग्गाको मूल्य बढ्न सकेको छैन। कतिपय स्थानमा त भाउ घटेको छ।
उद्योग स्थापना, पूर्वाधार विकास वा सेवा क्षेत्र विस्तारका लागि आवश्यक स्थिर सम्पत्तिमा लाग्ने लागत कम भएकाले अहिले लगानी सुरू गर्दा दीर्घकालीन लाभ लिन सकिने अवस्था बनेको छ।
कच्चा पदार्थको मूल्यमा आएको गिरावटले पनि लगानीको वातावरणलाई थप सहज बनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा फलामजन्य सामग्रीसहित औद्योगिक कच्चा पदार्थको मूल्य घटेको छ।
पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल ग्यासको मूल्य घटेको छ। देशभित्र विद्युतको उपलब्धता पनि बढेको छ।
यसले नयाँ उद्योग सुरू गर्न मात्र होइन, पुराना उद्योगको क्षमता विस्तार गर्न पनि अवसर सिर्जना गरेको छ ।
बैंकिङ क्षेत्रमा स्थिति अझै अनुकूल छ। बैंकहरूमा लगानीयोग्य रकम प्रशस्त जम्मा भएको छ।
औसत ब्याजदर करिब ७ प्रतिशत हाराहारीमा झरेको छ, जुन पछिल्लो दशककै सबैभन्दा तल्लो स्तर हो।
ऋण लिन चाहनेलाई बैंकहरूले नै आकर्षित गरिरहेको अवस्था बनेको छ। पर्याप्त धितो र व्यवहार्य परियोजना भए ऋण सहज रूपमा उपलब्ध हुने वातावरण छ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अहिलेको अवस्थालाई विकासका लागि दुर्लभ मौका भएको बताए।
'नेपालमा विकास गर्ने हो, काम गर्ने हो भने यति सहज अवस्था कहिले पनि हुँदैन,' उनले भने, 'अहिले लगानीका लागि विभिन्न कोणबाट हेर्दा निकै सहज अवस्था देखिएको छ।'
तरलता, ब्याजदर र बाह्य क्षेत्र, तीनै पक्ष एकैपटक अनुकूल हुनुलाई अति उपयुक्त समयमा रूपमा हेर्नुपर्ने उनले बताए।
उद्योगी पशुपति मुरारका पनि अहिले उपयुक्त समय भएपनि लाभ उठाउन नसकिएको बताउछन्।
'कच्चा पदार्थको मूल्य निरन्तर घटेको छ, बैंकको ब्याजदर घटेको छ, बैंकसँग पैसा पनि छ। तर, यसको लाभ उठाउन सकिएन। यो बेला निजी क्षेत्रले लाभ उठाउन सक्नुपर्ने थियो। मनोवैज्ञानिक रूपमा भने निजी क्षेत्र तयार देखिएन,' मुराकारले भने।
राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पनि यही आधारलाई उपयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्।
ऊर्जा, यातायात र अन्य पूर्वाधार क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले बैंकिङ प्रणालीबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।
पूर्वाधारमा हुने लगानीले श्रम र पुँजीको उत्पादकत्व बढाउने र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा चलायमान बनाउने उनको भनाइ छ।
उद्योगीहरूका अनुसार लागत पक्षमा यति धेरै अनुकूलता हुँदाहुँदै पनि निर्णय ढिला हुँदा अवसर गुम्ने जोखिम बढ्दै गएको छ।
विशेषगरी दुई वटा कारणले लगानी हुन नसकेको निजी क्षेत्रका प्रतिनिधिहरू बताउॅंछन्।
सरकारले लगानीकर्ताहरूमा विश्वास जगाउन नसकेको उनीहरूको भनाइ छ।
चुनावपछि आउने सरकारले कस्तो नीति लिन्छ र औद्योगिक वातावरण कस्तो बन्छ भन्ने अन्योल अहिले देखिएको उनीहरूको तर्क छ।
समाजमा अराजकता बढेको र सुरक्षा चुनौती कायम नै रहेको कारण पनि पर्ख र हेरको अवस्थामा रहेको उनीहरूको तर्क छ।
यद्यपि अघिल्लो वर्षको तुलनामा निजी क्षेत्रमा जाने लगानीमा केही सुधार देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो चौमासमा बैंक तथा वित्तीय संस्थाले ६५ अर्ब ४ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन्।
गत असारको तुलनामा गएको चार महिनामा कर्जा प्रवाह १.२ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको चार महिनामा थप १ खर्ब २८ अर्ब ४७ करोड रूपैयाँ कर्जा प्रवाह भएको थियो ।
महिनागत रूपमा वार्षिक विन्दुगत आधारमा कात्तिक २०८२ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ६.९ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये सबैभनदा बढी निर्माण क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशले बढेको छ।
यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.९, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९, उपभोग्य क्षेत्रतर्फको कर्जा १.७, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.४ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ ।
कृषि क्षेत्रतर्फको कर्जा २.६, वित्त बीमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले घटेको छ।