नेपालको फलाम तथा स्टिल उद्योगमा विदेशी तयारी सामग्रीको आयात घटेको छ।
छिमेकी मुलुकबाट आयात हुने तयारी फलामे बिलेटको परिमाण निरन्तर घट्दो क्रममा छ। स्वदेशमै कच्चा फलाम पगालेर बिलेट र डन्डी बनाउने प्रविधिमा उद्योगहरू रूपान्तरण भएका छन्।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६६ करोड ५६ लाख ५७ हजार केजी बिलेट आयात भएको थियो। त्यसयता बिलेटको वार्षिक आयात ७४ प्रतिशतसम्मले घटेको छ।
आर्थिक वर्ष २०७९/८० मा बिलेटको आयात घटेर २८ करोड ६८ लाख ३५ हजार केजीमा झरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा २० करोड ५ लाख ७७ हजार केजी बिलेट आयात भएको थियो।
आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा यो परिमाण घटेर १७ करोड २५ लाख ६७ हजार केजीमा सीमित भएको छ। पाँच वर्षको अवधिमा बिलेटको आयात परिमाण ७४.०८ प्रतिशत अर्थात् ४९ करोड ३० लाख ९० हजार केजीले घटेको छ।
रकमगत रूपमा पाँच वर्षको अन्तरमा वार्षिक आयात ४० अर्ब रूपैयाँले कमी आएको छ।
आर्थिक वर्ष २०७८/७९ मा बिलेट आयातमा ५१ अर्ब २९ करोड ५६ लाख बाहिरिएको थियो।
आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब ८५ करोड ८९ लाखको बिलेट आयात भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ८३ करोड २२ लाखको बिलेट आयात भएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा बिलेट आयातको मूल्य घटेर ११ अर्ब ८४ करोड ४२ लाखमा झरेको छ।
तयारी बिलेटको साटो बिलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ स्पन्ज आइरनको आयात बढेको छ।
आर्थिक वर्ष २०७८/७९ मा ४१ करोड ५७ लाख ३३ हजार केजी स्पन्ज आइरन आयात भएको थियो। आर्थिक वर्ष २०७९/८० मा स्पन्ज आइरनको आयात बढेर ७७ करोड ९७ लाख २० हजार केजी पुगेको थियो।
आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ९ करोड ५३ लाख ३५ हजार केजी स्पन्ज आइरन आयात भएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा स्पन्ज आइरनको आयात बढेर १ अर्ब ३४ करोड १३ लाख १४ हजार केजी पुगेको छ।
पाँच वर्षको अवधिमा स्पन्ज आइरनको आयात परिमाण २२२.६४ प्रतिशतले बढेको छ।
स्पन्ज आइरनको आयात रकममा पनि वृद्धि भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा २३ अर्ब ९८ करोड १६ लाखको स्पन्ज आइरन आयात भएको थियो। आर्थिक वर्ष २०७९/८० मा ४३ अर्ब ६० करोड १७ लाखको स्पन्ज आइरन आयात भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा ४८ अर्ब ७६ करोड ६० लाखको स्पन्ज आइरन आयात भएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा स्पन्ज आइरन आयातको मूल्य बढेर ५८ अर्ब ५२ करोड २६ लाख पुगेको छ।
स्पन्ज आइरन पगाल्न तथा पिग आइरन बनाउन आवश्यक पर्ने फलाम ओर (धाउ) आयात पनि बढेको छ।
आर्थिक वर्ष २०७८/७९ मा २४ करोड ३८ लाख ७४ हजार केजी फलाम धाउ आयात भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा १३ करोड ३२ लाख ९३ हजार केजी फलाम धाउ आयात भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा २० करोड ६ लाख ९७ हजार केजी आयात भएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा फलाम अयस्कको आयात बढेर २५ करोड ४६ लाख ६८ हजार केजी पुगेको छ। यसको मूल्य १ अर्ब १७ करोड ९२ लाख रहेको छ।
व्यवसायीहरूका अनुसार सरकारले बजेटमार्फत ल्याएको कर नीतिका कारण यो फेरबदल आएको हो।
आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयकमार्फत सिधैं तयार बिलेट आयात गर्दा लाग्ने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको थियो। प्रतिटन २,५०० अन्तशुल्क लगाइएको थियो।
देशभित्रै बिलेट बनाउन प्रयोग हुने स्पन्ज आइरन र फलामको कबाड आयातमा लाग्ने भन्सार महसुल शून्य प्रतिशत बनाइएको थियो।
अन्तशुल्क छुट दिइएको थियो। पछि स्पन्ज आइरनमा १ प्रतिशत भन्सार महसुल र १ प्रतिशत अन्तशुल्क कायम गरियो।
कर नीतिका कारण उद्योगीहरूले सिधैं बिलेट आयात गर्नुभन्दा देशभित्रै मेल्टिङ प्लान्ट स्थापना गरेर बिलेट र डन्डी बनाउन थालेका हुन्।
सर्वोत्तम स्टिल जस्ता उद्योगहरूले स्वदेशमै बिलेटको उत्पादन सुरू गरे।
सर्वोत्तम स्टिलको क्षमता वार्षिक २ लाख ४० हजार टन बिलेट उत्पादन गर्ने रहेको छ। साना उद्योगहरूले आयातित बिलेटको साटो स्वदेशी बिलेट खरिद गरेर डन्डी बनाउन थालेका छन्।
तयारी बिलेट र स्पन्ज आइरनको आयातले अर्थतन्त्र, बिजुली खपत र मूल्य अभिवृद्धिमा फरक असर पार्छ।
विदेशबाट तयार बिलेट ल्याएर डन्डी बनाउँदा २० देखि २५ प्रतिशत मूल्य अभिवृद्धि हुने व्यवसायीहरूको भनाइ छ।
स्पन्ज आइरन आयात गरी पगालेर बिलेट र डन्डी बनाउँदा ७० प्रतिशत मूल्य अभिवृद्धि हुने उनीहरूको दाबी छ।
कच्चा फलाम धाउ ल्याएर स्पन्ज आइरन, बिलेट र डन्डी बनाउँदा मूल्य अभिवृद्धि झनै बढ्छ।
विदेशबाट तयार बिलेट ल्याउँदा डन्डी तताउन मात्र बिजुली वा इन्धन चाहिन्छ।
स्पन्ज आइरन पगालेर बिलेट बनाउँदा इन्डक्सन फर्नेस र इलेक्ट्रिक आर्क फर्नेस चलाउनुपर्छ। यसका लागि ठूलो परिमाणमा विद्युत आवश्यक पर्छ।
अहिले एउटै यस्ता उद्योगले ४० मेगावाट बिजुली प्रयोग गर्ने गरेका छन्।