भदौ महिनामा मूल्य अभिवृद्धिकर (आन्तरिक)को संकलन करिब ४२ प्रतिशतले बढेको छ।
२०८२ भदौमा ८ अर्ब ९४ करोड ६२ लाख रूपैयाँ आन्तरिक भ्याट उठेको थियो।
यस वर्ष अर्थात २०८३ भदौ महिनामा भने १२ अर्ब ७० करोड ५ लाख रूपैयाँ उठेको हो। यसरी भ्याट संकलन ३ अर्ब ७५ करोड ४३ लाख रूपैयाँले बढेको छ।
जबकि सरकारले भदौ महिनाभर ११ अर्ब ३४ करोड आन्तरिक भ्याट संकलनको लक्ष्य राखेको थियो।
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार भदौसम्मको समग्र आन्तरिक राजस्व पनि गत वर्षको सोही अवधिको तुलनामा ११.८४ प्रतिशतले बढेको छ।
गत वर्ष भदौसम्म ७८ अर्ब ८३ करोड ५६ लाख रूपैयाँ राजस्व उठेकोमा यस वर्ष ८८ अर्ब १६ करोड ९ लाख रूपैयाँ उठेको छ।
यो ९ अर्ब ३२ करोड ५२ लाख रूपैयाँ बढी हो।
भदौ महिनामा भने कुल आन्तरिक राजस्व संकलन २२.७७ प्रतिशतले बढेको छ।
गत वर्ष भदौमा ३१ अर्ब १९ करोड २५ लाख रूपैयाँ संकलन भएकोमा यस वर्ष ३८ अर्ब २९ करोड ६५ लाख रूपैयाँ पुगेको छ।
भदौमा मात्रै ७ अर्ब १० करोड ४० लाख रूपैयाँ बढी राजस्व उठेको हो।
भदौसम्मको संकलन हेर्दा आयकरमा वृद्धिदर २.४६ प्रतिशत मात्रै छ।
गत वर्ष भदौसम्म २६ अर्ब ३२ करोड ७ लाख रूपैयाँ आयकर उठेकोमा यस वर्ष २६ अर्ब ९७ करोड ९९ लाख रूपैयाँ पुगेको छ। यसमा ६५ करोड ९२ लाख रूपैयाँको वृद्धि भएको हो।
अन्तशुल्क संकलन भने गत वर्षको तुलनामा १८.७२ प्रतिशतले बढेको छ।
गत वर्ष भदौसम्म १९ अर्ब १ करोड ३६ लाख रूपैयाँ अन्तःशुल्क उठेकोमा यस वर्ष २२ अर्ब ५७ करोड ३३ लाख रूपैयाँ पुगेको छ।
अर्थात् ३ अर्ब ५५ करोड ९७ लाख रूपैयाँ बढी उठेको हो।
भदौ महिनामा आयकर १२.९४ प्रतिशत र अन्तःशुल्क २१.८५ प्रतिशतले बढेको छ। यी दुई प्रमुख करको वृद्धिदर भ्याटको तुलनामा कम छ।
भ्याटतर्फ भने भदौसम्मको सञ्चित संकलन पनि उल्लेख्य बढेको छ। गत वर्ष भदौसम्म २२ अर्ब ६३ करोड ८२ लाख रूपैयाँ आन्तरिक भ्याट उठेकोमा यस वर्ष २७ अर्ब ९६ करोड ६२ लाख रूपैयाँ पुगेको छ।
यो ५ अर्ब ३२ करोड ८० लाख रूपैयाँ अर्थात् २३.५३ प्रतिशतको वृद्धि हो।
विभागको तथ्यांकमा भ्याट संकलन बढ्नुको छुट्टै कारण औंल्याइएको छैन।
तर पछिल्लो समय सरकारले बिल–बिजकको कारोबार बढाउने र वास्तविक कारोबारलाई कर प्रणालीमा ल्याउने प्रयास गरिरहेको छ।
यसबाट कारोबारमा देखिने रकम बढेर व्यापारीले उपभोक्ताबाट उठाएको भ्याट सरकारलाई बुझाएको हुन सक्ने अनुमान गर्न सकिन्छ।
यसैगरी भदौ १० गते आएको बाढी तथा त्यसपछि उत्पन्न परिस्थितिले विभिन्न वस्तु तथा सेवामा बाध्यात्मक खर्च बढाएको थियो।
त्यसबाट पनि बजारमा कारोबार बढेको र त्यसको प्रभाव भ्याट संकलनमा परेको हुन सक्ने अनुमान गर्न सकिन्छ।
सामान्यतया भ्याटमा वृद्धि हुनु उपभोग तथा कारोबार बढेको संकेतका रूपमा हेरिन्छ।
व्यवसायीले उपभोक्ताबाट उठाएको भ्याट अर्को महिनाको २५ गतेभित्र सरकारी खातामा दाखिला गर्नुपर्ने व्यवस्था छ।
त्यसैले एक महिनामा भएको कारोबारको प्रभाव त्यसपछिको महिनामा राजस्व संकलनमा देखिन्छ।
समग्र राजस्व वृद्धिमा भ्याट र अन्तःशुल्कको योगदान उल्लेख्य देखिएको छ।
विशेषगरी भदौ महिनामा भ्याटको ४१.९६ प्रतिशत वृद्धिदर कुल राजस्वको २२.७७ प्रतिशत वृद्धिभन्दा निकै माथि छ।