संघ, प्रदेश र स्थानीय तहमा कार्यरत १ हजार ९८५ कर्मचारी आगामी आर्थिक वर्ष २०८३/८४ मा अनिवार्य अवकाशमा जाने भएका छन्।
राष्ट्रिय किताबखाना (निजामती) को अभिलेख प्रणालीअनुसार हाल तीनै तहमा कार्यरत कुल ९२ हजार ५२० कर्मचारीमध्ये ५८ वर्षको उमेर हद वा पदावधि पूरा गर्ने १ हजार ९८५ कर्मचारीले अनिवार्य अवकाश पाउने भएका हुन्।
तहगत विवरणअनुसार विशिष्ट श्रेणी वा सो सरहका २० जना अवकाशमा जानेछन्। सहसचिव वा सो सरहका ८७ जना र उपसचिव वा सो सरहका २०६ जना पनि सेवा निवृत्त हुनेछन्। शाखा अधिकृत वा सो सरहका ३२० जना अवकाशमा जानेछन्।
सहायक स्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी पनि आगामी वर्ष अनिवार्य अवकाशमा जाने राष्ट्रिय किताबखानाको अध्ययनले देखाएको छ।
सरकारले अहिले कायम रहेको ५८ वर्षे उमेर हदका आधारमा यो विवरण तयार गरेको हो। तर, निजामती सेवा ऐन संशोधनका क्रममा ३० वर्ष सेवा अवधि वा ५५ वर्षको उमेर पुगेपछि अनिवार्य अवकाश दिने व्यवस्था लागू गर्ने विषयमा पनि छलफल भइरहेको छ।
यदि यस्तो व्यवस्था लागू भएमा एकै पटक २५ हजारभन्दा बढी कर्मचारी अवकाशमा जाने अनुमान गरिएको छ।
५८ वर्षे उमेरहदको कारण यो वर्ष अवकास पाउनेको विवरण