वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावितका लागि १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा पनि क्षति पुगेको छ।
प्रारम्भिक विवरणअनुसार कम्पनीको करिब ३ करोड ५० लाख रूपैयाँ बराबरको संरचनामा क्षति भएको छ।
आफ्नो पूर्वाधारमा क्षति भए पनि कम्पनीले प्रभावित नेटवर्कको मर्मत तथा पुनर्स्थापनालाई प्राथमिकता दिएको जनाएको छ।
बाढी आएको तीन दिनभित्र प्रभावित क्षेत्रमा इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ।
सडक, विद्युत तथा अन्य पूर्वाधारमा समस्या रहे पनि वर्ल्डलिंकका प्राविधिक टोली मर्मत तथा पुनर्स्थापनामा खटिएका थिए।
कम्पनीले विपद्को समयमा इन्टरनेट सेवा सूचना, सञ्चार, उद्धार, राहत तथा आपत्कालीन समन्वयको माध्यम भएकाले सेवा निरन्तर राख्न प्राथमिकता दिएको जनाएको छ।
वर्ल्डलिंकले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।
विपद्को समयमा नागरिकलाई सहयोग गर्नु आफ्नो जिम्मेवारी भएको कम्पनीको भनाइ छ।