भोटेकोशी बाढीले करिब ४० जना फसेको आशंका गरिएको माथिल्लो त्रिशूली-३ ए मा उद्धारको प्रयास भइरहेको छ।
यो उद्धारको नेतृत्व लिएर फिल्डमा काम गरिरहेका सुरूङ विज्ञ एंव सांसद श्रीराम न्यौपानेका अनुसार सुरूङको माथिल्लो भागतर्फ करिब १० मिटरभित्र नेपाली सेना र सशस्त्र प्रहरीको टोली प्रवेश गरिसकेको छ। एक्स्काभेटरले ब्लास्ट गरिएको ढुंगा तथा अवरोधहरू पन्छाउँदै छ। सुरूङको भुइँ तहसम्म पुग्न करिब नजिक छ।
यो आयोजना आजसम्म के-के प्रयास भयो ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले ६ बुँदे उद्धार प्रयास सार्वजनिक गरेको छ।
१.केवल टनेलको मुखबाट १५ फिट भित्रसम्म रहेको डेब्रिस निकाली त्यहाँसम्म नेपाली सेना प्रवेश गर्न सफल भएको र थप अगाडिसम्म जाने प्रयास निरन्तर जारी रहेको।
२.दिनरात निरन्तर काम गरी जमेको पानीलाई निकास दिन सम्भव भएको।
३. खोज तथा उद्धार कार्यलाई प्रभावकारी सञ्चालन गर्न कुनै पनि सामान तथा खाद्यान्नसमेतको अभाव हुन नदिन आवश्यक बजेट, सामानको प्राप्ति, खर्च र सो अभिलेख व्यवस्थापन गर्ने समेत निर्णय भएको।
४.खोज तथा उद्धार कमिटिसँग समन्वय गरी प्राधिकरणका सम्पर्कमा आएका/नआएका सम्पूर्ण कर्मचारी तथा कामदारहरुको विवरण अद्यावधिक गर्ने, सम्पर्क हुन नसकेको कर्मचारी तथा कामदारका परिवारजनको पीर, मर्का र गुनासो सुन्ने लगायतका काममा आवश्यक सहयोग र समन्वय गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा एक कमिटी गठन गर्ने निर्णय भएको।
५.हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त भएको प्राधिकरणको माथिल्लो त्रिशुली ३ ए जलविद्युत उत्पादन केन्द्रको पावर हाउस साइटसम्म जाने प्रबन्ध गरिएको।
६. प्राधिकरणले खोज तथा उद्धार एवम् विद्युत आपूर्ति सञ्चालन गर्नेतर्फ गरिएका मुख्य मुख्य काम कारबाहीहरू संप्रेषण गर्ने व्यवस्था गरिएको।