सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो।
मन्त्रालय मातहतको विद्युत नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्विलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको छ।
आयोगका अध्यक्ष रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिड (नेसनल ट्रान्समिसन ग्रिड) को प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको हो।
मापदण्ड अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत प्रसारण ग्रिड (नेसनल ट्रान्समिसन ग्रिड) मा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रतिमेगावाट ४ लाख १३ हजार रूपैयाँ प्रतिमहिना र अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क निर्धारण गरिएको अध्यक्ष धितालले बताए।
आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिन यो शुल्क निर्धारण गरेको अध्यक्ष धितालले बताए।
'उक्त शुल्क निर्धारण गर्दा प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गरिएको वित्तीय विवरण र प्राधिकरणबाट पेस भएको आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि वार्षिक आवश्यक आयको अनुमानित विवरण समेतलाई आधार मानी उपरोक्त मापदण्ड बमोजिमको गणना विधि अपनाई प्रसारण शुल्क निर्धारण गरिएको छ,' उनले भने।
उनका अनुसार तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर बिजुली आदानप्रदान गर्न आयोगले तोकेको मापदण्ड र दर अनुसार प्राधिकरणलाई ह्विलिङ चार्ज तिर्नुपर्नेछ।
आयोगका सदस्य जयराज भण्डारीले राष्ट्रिय विद्युत प्रसारण ग्रिडअन्तर्गत बाहेकका अन्य रेडियल तथा डेडिकेटेड प्रसारण संरचनाहरूको प्रसारण शुल्क निर्धारण प्रक्रिया सम्बन्धमा आयोगले छुट्टै निर्देशिका जारी गर्ने गरी कार्य भइरहेको बताए।
मापदण्डमा के छ?
आयोगले ऐन र नियमावलीबमोजिम मापदण्ड तय गरेको हो।
सदस्य भण्डारीका अनुसार विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १३ तथा विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम १३ अनुसार विद्युतनियमन आयोगबाट राष्ट्रिय विद्युत प्रसारण ग्रिड (नेशनल ट्रान्समिसन ग्रिड) अन्तर्गतको प्रसारण प्रणाली प्रयोग गरेबापत विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२ को दफा ३३ बमोजिमको प्रसारण शुल्क निर्धारण गर्ने प्रयोजनका लागि भदौ ३१ गतेदेखि लागू हुने गरी 'राष्ट्रिय विद्युत प्रसारण ग्रिड (नेसनल ट्रान्समिसन ग्रिड) को प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३' जारी भएको छ।
यस मापदण्डमा राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारणका लागि अपनाइने गणना विधि, वार्षिक आवश्यक आयमा समावेश गरिने विषय र सोको गणना विधि लगायतका विषय उल्लेख छन्।
प्रसारण शुल्क निर्धारण प्रयोजनका लागि अनुमति प्राप्त व्यक्तिको वार्षिक आवश्यक आयको गणना गर्दा ह्रासकट्टी, ऋणको ब्याज, कर्मचारी तथा सञ्चालन खर्च, प्रसारण सेवा बापतको लागत, स्वपुँजी लगानी बापतको प्रतिफल, विदेशी मुद्रा विनिमय बापतको खर्च, आयकर लगायतका विषयहरू समावेश हुने सदस्य भण्डारीले बताए।