नेपालको तेल उद्योगका लागि ४० कन्टेनर तोरी बोकेको कार्गो रेल सोमबार कोलकाताबाट विराटनगर आइपुगेको छ।
स्वस्तिक आयलले तेस्रो देशबाट लिएको तोरी बोकेर भारतको कोलकाता बन्दरगाहबाट तीन वर्षपछि पहिलोपटक विराटनगरसम्म कार्गो रेल आइपुगेको हो।
तीन वर्षअघि नियमित रूपमा सञ्चालन हुने वाचा गर्दै सुरू भएको कोलकाता–विराटनगर कार्गो रेल सेवा त्यसपछि अवरूद्ध नै रह्यो। त्यसयता नफर्केको रेल सोमबार भने विराटनगर आइपुगेको छ।
२०८० जेठ १८ मा भारतको बथनाहाबाट २ हजार ४०० टन औद्योगिक कच्चा पदार्थ बोकेको र्याक लिएर पहिलो कार्गो रेल आएको थियो। त्यसपछि रेल दोस्रोपटक विराटनगर फर्किएको थिएन।
कोलकाता बन्दरगाहबाट ४० फिट लम्बाई भएका ४० वटा कन्टेनर बोकेको मालबाहक रेल विराटनगर भन्सार यार्ड आइपुगेको हो।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमासम्म रेलमार्फत ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै यो सेवा सुरू भएको हो।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गर्दै विराटनगर भन्सारको यार्डसम्म रेल कार्गो लैजान सकिने व्यवस्था गरेको थियो।
भारत सरकारले भन्सारमार्फत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडित नियमावली २०१९ संशोधन गरी सहज बनाएपछि पहिलो पटक कार्गो रेलले नेपाली उद्योगका लागि तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ लिएर आएको हो।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार रेल शुक्रबार कोलकत्ताबाट हिँडेको थियो।
चार दिनपछि सोमबार विराटनगर भन्सार यार्डमा आइपुगेको हो।
‘यो नेपाली उद्योगी व्यवसायीका लागि निकै महत्वपूर्ण दिन हो,’ अध्यक्ष राठीले भने, ‘विगतमा देखिएका कार्गो रेल सम्बन्धी अप्ठ्यारो र झन्झट पनि अन्त्य भएको छ।’
रेल भन्सार यार्डमा आइपुगे पनि उद्योगी व्यवसायीहरूले ध्यानाकर्षण गराउँदै आएको ह्याण्डलिङ चार्जबारे भने अझै पनि स्पष्ट जानकारी आइनसकेको अध्यक्ष राठीले बताए।
कोलकाता र हल्दियाबाट वीरगञ्ज भन्सार यार्डमा मात्रै कार्गो रेल चल्दै आएको थियो।
अब वीरगञ्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म कार्गो रेलले मालसामान ढुवानी गर्ने प्रक्रिया सुरू भएको हो।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर विराटनगरका लागि रेल कार्गो सेवा सुरू भएको जनाउ दिएका थिए।
नेपाल आएको कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान भएका छन्।
विराटनगरसम्म रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर ल्याउन सकिने छ।
रेलमार्फत ढुवानी गर्दा सडक मार्गको तुलनामा बढी सुरक्षित, भरपर्दो, कम लागत र करिब २४ घण्टामै विराटनगरसम्म सामान पुग्ने भएकाले आयात व्यापार थप सहज हुने अपेक्षा उद्योगीहरूको छ।
‘यो सुविधाले नेपाली आयातकर्ताले बन्दरगाहमा तिर्नुपर्ने डेमरेज शुल्क, कन्टेनर डिटेन्सन शुल्क र सडक ढुवानीको अतिरिक्त लागत हट्ने छ,’ अध्यक्ष राठीले भने, ‘जसको परिणाम समग्र व्यापार पारवहन लागतमै कमी आई नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ हुने विश्वास छ।’
२०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट बथनाहा–विराटनगर ८ किलोमिटरको कार्गो रेल चलेको जनाउ दिंदै हरियो झण्डा हल्लाएका थिए।
त्यसको लामो समयपछि नेपाल भारत पारवहन सन्धिको प्रोटोकल संशोधन भएको थियो। सोही संशोधनले विराटनगर भन्सार यार्डमा कार्गो रेल आइपुग्ने आधार बनाएको हो।
अब नेपालसँग रेलमार्फत् विराटनगर भन्सार यार्डमा सबै प्रकारका मालसामान आयात–निर्यात गर्न पाउने अधिकार छ।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै विराटनगर भन्सारबाट हुने गरेको पारवहनको लागत ठूलो मात्रामा घट्ने छ। ढुवानीको समय पनि घटेर भारतसँगको विद्यमान व्यापार पहुँच थप सहज हुने अपेक्षा निजी क्षेत्रको छ।
-1784547736.jpg)
-1784547736.jpg)
-1784547735.jpg)
-1784547735.jpg)
-1784547736.jpg)
-1784547735.jpg)
-1784547735.jpg)