शिक्षासेवी, अध्यता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा.भि.पी. अग्रवालको नाममा स्थापना भएको भि.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार र सम्मान गरेको छ।
फाउन्डेसनले एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान विषयमा अध्यापन गराउने देशभरका सामुदायिक विद्यालयका शिक्षकमध्येबाट छनोट गरी उत्कृष्ट ५ जनालाई पुस्कृत गरेको हो।
पुरस्कृत हुने शिक्षकहरुमा नेपाली विषयमा काठमाडौँको कीर्तिपुरमा रहेको मंगल माविका शिक्षिका अन्जना महर्जन, अंग्रेजी विषयमा सोही विद्यालयकी शिक्षिका शर्मिला प्रधान, गणित विषयमा नारायणी नमुना मावि भरतपुर चितवनका राजकुमार कडेल, सामाजिक अध्ययन विषयमा काठमाडौंको टुसालमा रहेको श्रम राष्ट्रिय माविका प्रकाश आचार्य र विज्ञान विषयमा सोही माविका मकुन्दप्रसाद काफ्ले रहेका छन्।
पुरस्कृत शिक्षकहरुलाई फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवाल तथा उपाध्यक्ष समेत रहेकी प्रा.डा. अग्रवालकी श्रीमती ललिता अग्रवाललगायत पुरस्कार र सम्मान प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले स्वर्गीय प्राडा विश्वनाथ प्रसाद (भि.पी.) अग्रवालले शिक्षामा सुधार नभइ देशको विकास र व्यक्तिको जीवनस्तर सहज नहुने बताउने गरेकोले उनको सम्झनामा फाउन्डेसन स्थापना गरी शिक्षाको ज्योति छर्न अहोरात्र खटिने उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको बताए।
'भि.पी. अग्रवाल मानव जातिको पहिलो रोजाइ शिक्षा हुनुपर्छ भन्नुहुन्थ्यो। आफन्त, चिनेजानेका, नातेदार, छिमेकी मात्रै होइन, दुःखी र गरिबलाई पनि आफूले सकेसम्म सहयोग गरेर पढाउने गर्नुहुन्थ्यो। घरमै ल्याएर पनि धेरै जनालाई पढाउनु भएको छ । शिक्षा प्राप्त गरेको मानिसले मात्रै जीवनमा राम्रो प्रगति गर्न सक्छ, धेरै उपलब्धी हासिल गर्न सक्छ। र, शिक्षा प्राप्त गर्नको लागि असल र राम्रो शिक्षक चाहिन्छ। शिक्षाप्रतिको उहाँको समर्पण र योगदानलाई सम्मान गर्न र असल शिक्षकलाई प्रोत्साहन गर्न फाउन्डेसनले सानै भएपनि यो पुरस्कार र सम्मान कार्यक्रम राखेको हो,' अध्यक्ष अग्रवालले भने।
अध्यक्ष अग्रवालले शिक्षकलाई पुरस्कृत र सम्मान गर्ने कार्यलाई फाउन्डेसनले निरन्तरता दिने पनि बताए।
शिक्षक पुरस्कृत गर्नको लागि फाउन्डेसनले देशभरबाट आवेदन आव्हान गरेको थियो।
यसरी प्राप्त भएका आवेदनबाट फाउन्डेसनले तयार पारेको मापदण्डका आधारमा शिक्षक छनोट गरी पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक केदार बहादुर अधिकारीले बताए।
अधिकारी नेपाल सरकारका अवकाशप्राप्त सचिव हुन्। उनले सार्वजनिक सुचना प्रकाशन गरिएको, छनोट प्रक्रिया सुरू हुनुभन्दा अगाडि नै मापदण्ड बनाइएको, शिक्षकहरुले पठाएको मापदण्डमा विद्यार्थी पासको संख्या लगायतका विषयमा शिक्षा विभागसँग संपरीक्षण गरिएको र निस्पक्षता कायम गर्न सबै उपाय अपनाइएको बताए।
फाउन्डेसनका महसचिव मनोज अग्रवालले विज्ञान र समाजवीचको पुललाई अझ प्रगाढ बनाउन प्रतिष्ठान स्थापना गरी शिक्षकलाई पुरस्कार र सम्मान गर्न सुरु गरिएको बताए।
पुरस्कृत शिक्षकहरुको तर्फबाट बोल्दै शिक्षिका अन्जना महर्जनले पुरस्कारले आफूलाई जिम्मेवारीवोधमा अझ गम्भीर बनाएको र फाउन्डेसनले आफूमार्फत सम्पूर्ण शिक्षकको सम्मान गरिएको अर्थमा आफूले बुझेको बताइन्।
यस्तै, पुरस्कृत अर्का शिक्षक राजकुमार कडेलले फाउन्डेसनले सामुदायिक विद्यालयका शिक्षकलाई सम्मान गरेर देशभरका सामुदायिक विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायत सम्पूर्ण शिक्षा क्षेत्रलाई सम्मान गरेको बताए।
फाउन्डेसनले देशका कुनाकाप्चासम्ममा रहेका विद्यालय तहका शिक्षकहरूले पनि देशव्यापी प्रतिस्पर्धामा सहभागी भएर पुरस्कार पाउन सक्ने अवस्था सिर्जना गरेको थियो।
नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका माध्यामिक तहका शिक्षकलाई प्रोत्साहन गर्न यसरी पुरस्कार दिइएको हो।
पुरस्कार भि.पी. अग्रवाल फाउन्डेसनले प्रदान गर्न लागेको हो।
स्वर्गीय प्राडा विश्वनाथ प्रसाद (भि.पी.) अग्रवालको नाममा स्थापना गरिएको भि.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका शिक्षकबाट पुरस्कारका लागि आवेदन आव्हान गरेको थियो।