रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा शुक्रबार एकै दिन ३८ करोड ५५ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ।
विभिन्न २७ संस्था तथा व्यक्तिले राहत कोषमा सहयोग गरेका हुन्।
शुक्रबार सहयोग गर्नेमा सूर्य नेपालले १५ करोड, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड र नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।
मोरङ अटो वर्क्सले १ करोड ११ लाख, राजी राणाले १ करोड ९ लाख ८० हजार, हिमालयन बुलियनले १ करोड १ लाख र एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख रुपैयाँ दिएका छन्।
एग्रो थाईफुड्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, उद्योगी विजयकुमार शाह, पद्मज्योति समूहको स्याकार ट्रेडिङ, डब्लूडब्लूएफ नेपाल, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरले जनही १ करोड रुपैयाँ सहयोग गरेका छन्।
मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र एबाकस इन्साइट्सले १५ लाख रुपैयाँ दिएका छन्।
सीएएस ट्रेडिङ हाउस र सिल्भर लाइनिङले जनही १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्। अन्य तीन संस्थाबाट २६ लाख ६२ हजार रुपैयाँ प्राप्त भएको छ।
अर्थ मन्त्रालयका अनुसार शुक्रबार मन्त्रालयमार्फत कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ।