रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको टनेलमा करिब २५ जना फसेको अनुमान गरिएको छ।
उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका प्राविधिक सहितको टोलीले काम गरिरहेको छ।
आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का सचिव विजयमोहन भट्टराईका अनुसार नेपाली र भारतीय सेनाका १२ जना प्राविधिक सहितको टोलीले उद्धारको काम गरिरहेको छ।
‘रेकीको काम भइरहेको थियो, आजबाट चाहिँ उपकरणसहित उद्धारको काम भइरहेको छ,’ उनले भने।
उनका अनुसार टोलीले केही दिनदेखि घटनास्थलको रेकी गरिरहेको थियो। सोमबारदेखि आवश्यक उपकरणसहित टनेल खन्ने काम सुरू गरिएको छ। सम्भावित फसेका मानिससम्म पुग्न करिब डेढ सय मिटर खन्नुपर्ने भएकाले भोलिसम्म लाग्ने अनुमान गरिएको छ।
‘सामान्य बाढी आउँदा साइरन बज्थ्यो। तर यसपटक प्रलय नै आयो, साइरन समेत बाढीले बगाएर लग्यो,’ उनले भने।
यसअघि यो आयोजनामा काम गर्ने १८ जनाको उद्धार गरिएको थियो भने एक जना आफै हिँडेर बाहिर आएका थिए।
उद्धारमा केही ढिलाइ भए पनि टनेलमा फसेका मानिस जीवितै रहेको आशा गरिएको भट्टराईले बताए।
‘छिटो काम गर्न पाएको भए हुन्थ्यो। ढिलाइ भए पनि उहाँहरू जीवित रहनुभएको होस्, अहिले हाम्रो कामना यही हो,’ उनले भने।