भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बुटवलमा प्रधान कार्यालय रहेको बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कुल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्धेश्यले सो कोषमा रकम सहयोग गरेको बैंकले जनाएको छ।
‘विपतको कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरूलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको हो,’ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।