रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि महिला पर्यटन व्यवसायी सञ्जालले राहत तथा आर्थिक सहयोग गरेको छ।
‘विपद्मा मानवीय साथ’ भन्ने उद्देश्य सहित सञ्जालले खाद्यान्न, लत्ताकपडा, औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै बचत भएको रकम सरकारी कोषमा जम्मा गरेको हो।
सञ्जालकी अध्यक्ष जय बरालको नेतृत्वमा ६ सदस्यीय टोली राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको थियो।
टोलीले बाढी पीडितका लागि संकलित राहत सामग्री नुवाकोटको बट्टारस्थित आर्मी ब्यारेक क्याम्पमार्फत प्रभावित परिवारसम्म पुग्ने गरी हस्तान्तरण गरेको सञ्जालले जनाएको छ।
संस्थाका अनुसार मानवीय अभियानका लागि सञ्जालका सदस्यहरूबाट १ लाख २५ हजार रुपैयाँ तथा गैर–सदस्य सहयोगीहरूबाट १७ हजार रुपैयाँ गरी कुल १ लाख ४२ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो।
संकलित रकममध्ये ३८ हजार रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामग्री खरिद गरी पीडितहरूलाई उपलब्ध गराइएको थियो। यसरी खाद्यान्नसहित करिब १ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित परिवारसम्म पुग्ने गरी हस्तान्तरण गरिएको सञ्जालले जनाएको छ।
यसका अतिरिक्त, सञ्जालमा आबद्ध सदस्यहरूले व्यक्तिगत रूपमा करिब ७० हजार रुपैयाँ बराबरको लत्ताकपडा, औषधि तथा अन्य स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएका थिए।
राहत सामग्रीका लागि संकलित रकममध्ये खर्च कटाएर बाँकी रहेको १ लाख ५ हजार रुपैयाँ भने सञ्जालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
‘व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्नु हाम्रो कर्तव्य हो,’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस कठिन समयमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै राहत र पुनस्र्थापनाका लागि सानो भए पनि सहयोग गर्न पाउनु हाम्रो साझा मानवीय जिम्मेवारी हो।’
अभियानमा आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ दिने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति सञ्जालले आभार व्यक्त गरेको छ।
पर्यटन क्षेत्रमा आबद्ध महिला उद्यमीहरूको यो सक्रियताले विपद्का बेला निजी क्षेत्र र सामाजिक संस्थाले निर्वाह गर्न सक्ने सामाजिक उत्तरदायित्वको भूमिकालाई समेत उजागर गरेको छ।