उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साटेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
मन्त्री यादवले नेपाल आयल निगम र ग्यास उद्योगलाई यस्तो व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएकी हुन्।
बाढीका कारण आपूर्ति असहज भएपछि यस्तो व्यवस्था गर्न लागिएको हो।
मन्त्रीको सचिवालय अनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर नपाए अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्नेछन्।
यो व्यवस्था काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ। सिलिन्डर साट्दा ग्यासको मूल्य भने समान रहने छ।
बाढीका कारण काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति केही असहज भएको छ। त्यसलाई सहज बनाउन सरकारले सिलिन्डर साटासाटको व्यवस्था गर्न लागेको हो।
मन्त्री यादवले उपभोक्तालाई दुःख दिने र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाही हुने बताइन् छ। तोकिएको व्यवस्थाविपरीत काम गरे प्रचलित कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।