विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई आनन्द मार्ग युनिभर्सल रिलिफ टिम आमर्ट नेपालले उद्धार तथा राहत सामग्री वितरण गरेको छ।
संस्थाले बाढी प्रभावित करिब १०० जना मानिसहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने घरायसी, सरसफाइ तथा व्यक्तिगत हेरचाहका सामग्रीहरू हस्तान्तरण गरेको हो।
बाढीका कारण समस्यामा परेका पीडित परिवारको तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै बाल्टी, जग, कर्चुल, गिलास, प्रेसर कुकर, थाली, कचौरा, मन्जन, टुथब्रश, रुमाल, स्यानिटरी प्याड तथा महिलाका भित्री वस्त्रहरू वितरण गरिएको छ।
राहत वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष नवराज बहादुर विसीले प्रभावित क्षेत्रमा सहयोग निरन्तर रहने बताए।
'विपद्को यस घडीमा बाढी प्रभावित परिवारहरूसँग हामी पूर्ण रूपमा ऐक्यबद्ध छौँ। सन् १९९८ देखि नै 'मानव सेवा नै ईश्वर सेवा हो’ भन्ने मूल मन्त्रका साथ काम गर्दै आएको आमर्ट नेपालले संकटमा परेका नागरिकलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध छ,' अध्यक्ष विसीले भने।
यस्तै, राहत अभियानको वस्तुस्थितिबारे जानकारी दिँदै आमर्ट नेपालका नेपालका नेपाल संयोजक शिव सापकोटाले भने, 'बाढीपछि प्रभावित परिवारहरूमा खाना पकाउने र व्यक्तिगत सरसफाइका सामग्रीको ठूलो अभाव देखिएकाले हामीले सोही अनुसारको राहत प्याकेज तयार पारेर वितरण गरेका हौँ। हाम्रा स्वयंसेवकहरू निरन्तर मैदानमा खटिरहेका छन्। राहत अभियानलाई थप प्रभावकारी र व्यापक बनाउन इच्छुक सबै दाता तथा समर्थकहरूलाई सहयोगको लागि आह्वान गर्दछौँ।'