उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले मन्त्रालयका कर्मचारीले आफूलाई काम गर्न असहयोग गरेको आरोप लगाएकी छन्।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले कर्मचारीहरूले उद्योगी–व्यवसायीसँगको मिलेमतोमा काम गर्ने गरेको आरोप लगाइन्।
आफूले उद्योग क्षेत्रमा सुधार गर्न खोज्दा सबैको ‘आँखाको तगारो’ बनेको उनको भनाइ छ।
मन्त्रालयले बनाउने विधेयक तथा कानूनमा समेत कर्मचारीहरूले उद्योगी–व्यवसायीको हितअनुकूल प्रावधान राख्ने गरेको उनले आरोप लगाइन्।
उद्योगीहरूको हितअनुकूल बनेका नियम–कानुन परिवर्तन गर्न खोज्दा कर्मचारीतन्त्रबाट असहयोग हुने उनको गुनासो छ।
उनले आयल निगमको मातहतमा ग्यास उद्योग आवश्यक रहेको बताएकी छन्।
त्यस्तै पाँच वस्तुमा सरकार आफै आत्मनिर्भर हुनुपर्ने दाबी उनले गरेकी छन्। ग्यास, तेल, कपडा, चिनी, खाद्यान्नमा सरकार आफै आत्मनिर्भर नभए यस्तो अभाव भइरहने उनले बताएकी छन्।
मन्त्री यादवले उद्योग क्षेत्रमा सुधारका लागि आफूले पटक–पटक निर्देशन दिए पनि कर्मचारीहरूले परिवर्तन गर्न नमानेको बताइन्।
बलियो सरकार हुँदासमेत कर्मचारीतन्त्रको असहयोगका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको उनको भनाइ छ।
मन्त्री यादवले उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज नहुन बताएकी छन्।
‘समितिले जे निर्देश दिन्छ। म मान्छु, तर उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन। मेरो अन्तिम निचोड यही हो,' उनले भनिन्।
उनले ग्यास उद्योगको संख्या आवश्यकताभन्दा धेरै रहेको बताउँदै उद्योगको संख्या घटाउनुपर्ने धारणा राखिन्।
उनले भनिन्, ‘दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन। साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुइटा। अरू सबै खारेज गर्नुपर्छ। मैले पनि हात जोडेरै सबैलाई भनेको छु कि ग्यास आपूर्ति सहज बनाइदिनुस्, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनुस्। हात जोडेर नहुँदो रहेछ।’
विधेयक निर्माणमा समेत उद्योगीको प्रभाव रहेको दाबी गर्दै उनले कर्मचारीलाई परिवर्तन गर्न निर्देशन दिँदा नमानेको बताइन्।
‘तपाईं भन्नुस् यो चेन्ज गरेर ल्याउनुस्, कर्मचारी भन्छ– हुँदैन, मिल्दैन हजुर। तपाईं १० चोटि भन्नुस्, मिल्दैन भनेर भन्छ। के गरौँ? यस्तो बलियो सरकारमा त यो हाल छ भने कर्मचारीहरूको।’
उनले कर्मचारीतन्त्रले उद्योगीहरूले भनेअनुसारका प्रावधान राख्ने गरेको आरोप लगाउँदै भनिन्, ‘विधेयक जस्ताको तस्तै आउँछ। चेन्ज गर्न भन्नुस्, मान्दैन कर्मचारी। जे उद्योगीहरूले भन्छ, त्यही राख्न भन्छ।’
मन्त्री यादवले नेपालमा उद्योग स्थापना गर्ने वातावरण नरहेको पनि बताइन्।
कच्चा पदार्थ आयात र तयारी वस्तु आयातबीचको भन्सार नीतिमा पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ।
सस्तो मूल्यमा तयारी वस्तु आयात हुने तर त्यही वस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ महँगो पर्ने अवस्थाले नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उनले बताइन्।
उनले कर्मचारीतन्त्र सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन्।
‘तपाईं भन्नुहुन्छ नि लोक सेवाको ब्रेन छ, त्यो ब्रेन गलत दिशामा लागेको छ। त्यो ब्रेन सही दिशामा लाग्थ्यो भने यो देश कहाँबाट कहाँ पुग्थ्यो? तर पुग्दैन, किनभने तपाईंको साथ दिँदैन त्यहाँ । एक्लै तपाईं केही पनि गर्न सक्नुहुन्न। यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ,’ उनले भनिन्।
मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको दाबी गरिन्।
ठूला देशहरूमा तीन वटाभन्दा बढी ग्यास उद्योग नरहेको उल्लेख गर्दै उनले नेपालमा यति धेरै उद्योग हुनुको कारण खोज्नुपर्ने बताइन्।
‘५८ वटा ग्यास उद्योग चाहिएको छैन, हामीलाई। ठूला–ठूला कन्ट्रीमा तीनवटाभन्दा बढी छैन ग्यास उद्योग। यहाँ किन ५८ वटा छ? किनभने करोडौँ लिएर उनीहरूलाई लाइसेन्स दिएको छ। त्यो उद्योगीहरू पनि त्यो करोडौँ त उठाउनुपर्यो नि, उनीहरू उठाइरहेको छ,’ उनले भनिन्।
– न्युज एजेन्सी नेपाल