विश्वमै पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको ऐतिहासिक दिनको स्मरणमा यस वर्षको अन्नपूर्ण आरोहण दिवस लमजुङमा मनाइने भएको छ।
दिवसका अवसरमा जिल्लाका नयाँ पदमार्गको पहिचान र प्रवर्द्धनलाई प्राथमिकता दिइने आयोजकहरूले जनाएका छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले लमजुङको श्रीमञ्ज्याङमा जेठ २० र २१ गते अन्नपूर्ण आरोहण दिवस आयोजना गर्दै दोर्दी क्षेत्रका नयाँ पदमार्गको प्रवर्द्धन गर्ने तयारी गरेको छ।
अन्नपूर्ण क्षेत्रमा स्थापित पदमार्गहरू सडक सञ्जाल विस्तारका कारण छोटिँदै गएको र बाँकी मार्गहरू पनि अत्यधिक व्यावसायिक बन्दै गएको अवस्थामा वैकल्पिक पदयात्रा मार्गको खोजी आवश्यक भएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए।
‘पुराना पदमार्गहरू मोटरबाटोले छोटिएका छन्। बाँकी रहेका मार्गहरूमा पनि होटल र व्यवसाय बढ्दै जाँदा पदयात्राको मौलिक अनुभव घट्दै गएको छ,’ उनले भने, ‘क्याम्पिङ ट्रेकका लागि उपयुक्त नयाँ पदमार्गको खोजी र प्रवर्द्धन गर्न लमजुङमा दिवस आयोजना गर्न लागिएको हो।’
सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। यो विश्वमै पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको घटना थियो। सोही उपलब्धिको स्मरणमा हरेक वर्ष अन्नपूर्ण आरोहण दिवस मनाइँदै आएको छ।
दिवसका अवसरमा दोर्दी क्षेत्रका पदमार्गहरूको पहिचान र प्रवर्द्धनसँगै स्थानीय कला–संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तनले पर्वतीय पर्यटन र वातावरणमा पारेको प्रभावबारे अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने भएको छ।
पोखरामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी जितु गुरुङले दोर्दी क्षेत्र पदयात्रा पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए। उनका अनुसार पर्यटन प्रवर्द्धनले स्थानीय संस्कृति संरक्षण, उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा समेत टेवा पुर्याउनेछ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त क्षेत्रमा हाल तीनवटा पदमार्ग पहिचान गरिएका छन्। नौथर सेराबाट श्रीमञ्ज्याङ, जोर्ने, इलमपोखरी, लिपेलेक र दाम्राङ हुँदै पुनः नौथर सेरा पुग्ने तीनदिने पदमार्ग रहेको छ। त्यस्तै लिपेलेकबाट दाम्राङ, नोटाचे, उखण्ड, मेमेपोखरी, कोम्रोडाँडा र बाह्रपोखरी हुँदै हिलेटक्सार पुग्ने १० दिने पदमार्ग तथा पिसहिल हुँदै भुलभुले निस्कने आठदिने पदमार्ग पनि पहिचान गरिएको उनले बताए।
यसैगरी गोरखाको बारपाक–सुलिकोट, अजिरकोट, दुधपोखरी, दोर्दी र ठुलागी हुँदै लमजुङको घेर्मुसम्म जोडिने नयाँ पदमार्गसमेत पहिचान गरिएको छ। हिमाल–हिमालचुली ग्रेट लेक सर्किटका नाममा यस पदमार्गको प्रवर्द्धन गरिरहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए। लामा तथा छोटा रूटका यी पदमार्गहरूका प्रवर्द्धन गर्न सके प्रकृतिको नजिक हुन चाहने पदयात्रीलाई लोभ्याउन सक्ने उनको दाबी छ।
लामो र छोटो दूरीका यी मार्गहरूको प्रवर्द्धन गर्न सके प्रकृतिसँग नजिकको अनुभव खोज्ने पदयात्रीलाई आकर्षित गर्न सकिने अधिकारीको विश्वास छ।
उनका अनुसार अन्य लोकप्रिय पदमार्गहरूमा मोटरबाटो विस्तार, धुलो–धुवाँ र अत्यधिक व्यावसायीकरणका कारण पदयात्रीले अपेक्षित अनुभव प्राप्त गर्न कठिन हुँदै गएको छ।
‘यी नयाँ मार्गहरू शान्त, प्राकृतिक र कम हस्तक्षेप भएका क्षेत्रभित्र पर्छन्,’ उनले भने।
अन्नपूर्ण फेरो पदमार्गअन्तर्गत लमजुङबाट मनाङ हुँदै मुस्ताङ जोड्ने अधिकांश खण्डमा सडक पुगेपछि पदयात्रा मार्ग छोटिएको छ। पोखराबाट उपल्लो मुस्ताङसम्म सडक सञ्जाल विस्तार भइसकेको छ भने अन्य धेरै पदमार्ग पनि सडकको प्रभावमा परेका छन्।
टान गण्डकीका अध्यक्ष आचार्यले गुणस्तरीय पर्यटक आकर्षित गर्न नयाँ र क्याम्पिङमा आधारित पदमार्गको विकास अपरिहार्य भएको बताए।
‘हामीलाई अब वैकल्पिक पदयात्रा गन्तव्य आवश्यक छ,’ उनले भने, ‘क्याम्पिङ ट्रेकका लागि उपयुक्त नयाँ मार्ग विकास गर्न सके उच्चस्तरीय पर्यटक भित्र्याउन सकिन्छ।’