अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको ७६ वर्ष पूरा भएको अवसरमा बुधबार लमजुङमा आयोजित कार्यक्रममा तीन जना सगरमाथा आरोहीलाई सम्मान गरिएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले लमजुङको श्रीमञ्ज्याङ लामागाउँमा आयोजना गरेको समारोहमा सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ, नरेन्द्र शाही र मानराज गुरूङलाई सम्मान गरिएको हो।
गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उनीहरूलाई सम्मान प्रदान गरिन्।
कार्यक्रममा बोल्दै मन्त्री रिमालले प्रदेश सरकारले पर्यटनलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाएको बताइन्।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार विस्तार र नयाँ गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकता दिइएको जानकारी दिइन्।
सम्मानितमध्ये गोरखाकी पूर्णिमा श्रेष्ठ हालै छैटौँ पटक सगरमाथा आरोहण गरेर फर्किएकी हुन्।
उनले नेपालका सात वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेकी छन् भने विश्वको दोस्रो अग्लो हिमाल पाकिस्तानको केटु समेत चढिसकेकी छन्।
लमजुङका राइनासका नरेन्द्र शाहीले सन् २०१७ यता पाँच पटक सगरमाथा आरोहण गरेका छन्। पर्वतारोहण क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएका उनले टोबसार पिकको पहिलो आरोहणको कीर्तिमानसमेत कायम गरेका छन्।
राइनास प्यारजुङका मानराज गुरूङले गत वर्ष पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। अन्तर्राष्ट्रिय माउन्टेन गाइडका रूपमा कार्यरत उनले नेपाल र विदेशका विभिन्न हिमालमा सफल आरोहण गरिसकेका छन्।
कार्यक्रममा अन्नपूर्ण क्षेत्रका परम्परागत पदमार्गहरू सडक विस्तारका कारण मासिँदै गएकाले नयाँ पदमार्गको खोजी र प्रवर्द्धनमा सरकारले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायीहरूले बताएका थिए।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले लोकप्रिय पदमार्गहरूमा सडक सञ्जाल विस्तार भएपछि वैकल्पिक गन्तव्यको आवश्यकता बढेको बताए।
उनका अनुसार दोर्दी क्षेत्रका नयाँ मार्गहरू क्याम्पिङ ट्रेकका लागि उपयुक्त हुन सक्छन् र तिनले कम भीडभाडयुक्त हिमाली अनुभव खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्छन्।
दिवसका अवसरमा दोर्दी क्षेत्रका सम्भावित पदमार्गहरूको पहिचान, स्थानीय संस्कृति संरक्षण तथा जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा पारिरहेको प्रभावबारे छलफल गरिएको थियो। स्थानीय जनप्रतिनिधिहरूले गोरखा र लमजुङ जोड्ने नयाँ पदमार्गहरूको प्रवर्द्धनले ग्रामीण अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त क्षेत्रमा हाल तीनवटा पदमार्ग पहिचान गरिएका छन्।
नौथर सेराबाट श्रीमञ्ज्याङ, जोर्ने, इलमपोखरी, लिपेलेक र दाम्राङ हुँदै पुनः नौथर सेरा पुग्ने तीनदिने पदमार्ग रहेको छ। त्यस्तै लिपेलेकबाट दाम्राङ, नोटाचे, उखण्ड, मेमेपोखरी, कोम्रोडाँडा र बाह्रपोखरी हुँदै हिलेटक्सार पुग्ने १० दिने पदमार्ग तथा पिसहिल हुँदै भुलभुले निस्कने आठदिने पदमार्ग पनि पहिचान गरिएको उनले बताए।
यसैगरी गोरखाको बारपाक–सुलिकोट, अजिरकोट, दुधपोखरी, दोर्दी र ठुलागी हुँदै लमजुङको घेर्मुसम्म जोडिने नयाँ पदमार्गसमेत पहिचान गरिएको छ। द्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किटका नाममा यस पदमार्गको प्रवद्र्धन गरिरहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए। लामा तथा छोटा रूटका यी पदमार्गहरूका प्रवर्द्धन गर्न सके प्रकृतिको नजिक हुन चाहने पदयात्रीलाई लोभ्याउन सक्ने उनको दाबी छ।
लामो र छोटो दूरीका यी मार्गहरूको प्रवर्द्धन गर्न सके प्रकृतिसँग नजिकको अनुभव खोज्ने पदयात्रीलाई आकर्षित गर्न सकिने अधिकारीको विश्वास छ।
उनका अनुसार अन्य लोकप्रिय पदमार्गहरूमा मोटरबाटो विस्तार, धुलो–धुवाँ र अत्यधिक व्यावसायीकरणका कारण पदयात्रीले अपेक्षित अनुभव प्राप्त गर्न कठिन हुँदै गएको छ।
‘यी नयाँ मार्गहरू शान्त, प्राकृतिक र कम हस्तक्षेप भएका क्षेत्रभित्र पर्छन्,’ उनले भने।
पोखराका पर्यटन व्यवसायी जितु गुरूङले लमजुङको श्रीमञ्ज्याङबाट पर्यटकीय पदमार्गहरू सञ्चालन गर्न सकिने र गाउँमा होमस्टे प्रवर्द्धन गर्न आफू लागेको बताए। श्रीमञ्ज्याङको लामागाउँमा जन्मिएका गुरूङले यहाँको लेक, लेकमा रहेका पोखरीहरू र हिमालले पर्यटकलाई आकर्षण गर्न सक्ने भन्दै सबै मिलेर प्रवर्द्धन गर्नुपर्ने बताए।
अन्नपूर्ण आरोहण दिवस विश्व पर्वतारोहण इतिहासको एक महत्वपूर्ण घटनाको स्मरणमा मनाइन्छ।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुई लाशनालले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए। त्यो विश्वमै पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गरिएको घटना थियो।