चौधरी ग्रुप अन्तर्गतको सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेसनलबीच काठमाडौँमा दुई वटा नयाँ लक्जरी तथा प्रिमियम होटल स्थापना गर्ने गरी सम्दारी गरिएको छ।
आइतबार म्यारियट इन्टरनेसनल इंक र सिजी हस्पिटालिटी ग्रुपबीच दुई लक्जरी होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपालमा पहिलो पटक प्रवेश गर्न लागेको 'द रिट्ज-कार्लटन काठमाडौं' राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्थापना हुनेछ।
यस होटलमा ३० वटा विशाल स्विट रूमसहित जम्मा १५० वटा कोठाहरू रहनेछन्।
पाहुनाका लागि यहाँ पाँचवटा फरक रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर र 'द रिट्ज-कार्लटन स्पा' को व्यवस्था गरिने उल्लेख छ।
व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि होटलमा ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको अत्याधुनिक सुविधासम्पन्न सम्मेलन हल निर्माण हुने जानकारी गराइउको छ।
त्यस्तै १५० वटा प्रिमियम तथा स्विट रूमहरूसहित 'द वेस्टिन काठमाडौँ' सञ्चालनमा आउनेछ।
यहाँ तीन वटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट, फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन र रूफटप स्विमिङ पुलको सुविधा उपलब्ध हुने उल्लेख छ।

यस होटलमा स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट हल समेत निर्माण जनाइएको छ।
म्यारियट इन्टरनेसनलले उच्च सम्भावना भएको नेपाली बजारहरूमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्य गरिएको जनाएको छ।
यी परियोजनाहरूले म्यारियट इन्टरनेसनलका लक्जरी तथा प्रिमियम ब्रान्डहरूको उत्कृष्टता र उच्च मापदण्डलाई झल्काउने दाबी छ।
म्यारियट इन्टरनेसनल एसिया प्रशान्त क्षेत्रका अध्यक्ष राजीव मेननले काठमाडौंमा विकसित हुने यी परियोजनाहरूले म्यारियटका विश्वस्तरीय लक्जरी तथा प्रिमियम ब्रान्डहरूलाई सिजी हस्पिटालिटीको गहिरो बजार अनुभव जोड्ने बताए।
'हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्यहरू निर्माण गर्नेछौं,' उनले भने।
सिजी हस्पिटालिटी ग्लोबलका प्रवन्ध निर्देशक राहुल चौधरीले सिजी हस्पिटालिटीले नेपालमै विश्वस्तरीय प्रपर्टीहरू विकास गर्दै नेपालको पर्यटन उद्योगलाई अर्को स्तरमा पुऱ्याउने सोचसहित काम गरेको बताए।
यी दुई होटलसम्बन्धी सम्झौता म्यारियट इन्टरनेसनल र सिजी हस्पिटालिटीबीच विस्तार हुँदै गएको सहकार्यका रूपमा लिइएको उनले बताए।
अमेरिकाको मेरील्यान्ड राज्यस्थित बेथेस्डामा मुख्यालय रहेको म्यारियट इन्टरनेसनलका सन् २०२६ मार्च ३१ सम्म १४६ देश तथा क्षेत्रहरूमा ९,९०० भन्दा बढी होटलहरू सञ्चालनमा छन्।
कम्पनीले लक्जरी, प्रिमियम, मिडस्केल, एक्सटेन्डेड स्टे तथा अल-इन्क्लुसिभ श्रेणीका आवास सेवाहरू सञ्चालन गर्दछ र यसले 'म्यारियट बोनभोय' नामक ट्राभल प्लेटफर्म पनि चलाउँछ।
चौधरी ग्रुप अन्तर्गतको सिजी हस्पिटालिटीसँग हाल १२ देशका १३० गन्तव्यमा फैलिएका २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३ हजार ८३५ भन्दा बढी कोठाहरूको पोर्टफोलियो छ।
यसले ताज, ताज सफारी, भिभान्ता, जेटविड, डबल ट्री बाइ हिल्टन तथा फेयरमन्टजस्ता विश्वप्रसिद्ध ब्रान्डहरूसँग साझेदारी गर्दै आएको छ।
कम्पनीले सन् २०३० सम्म आफ्नो पोर्टफोलियो ६०० भन्दा बढी होटल र ३०,००० कोठा पुर्याउने अपेक्षा गरेको छ।
यसै अन्तर्गतको कन्सेप्ट हस्पिटालिटी/फर्न होटलले १५० भन्दा बढी होटलहरू 'द फर्न सिरिज बाई म्यारियट' मार्फत व्यवस्थापन गरिरहेको छ र यसलाई सन् २०३१ सम्म ५०० होटल पुर्याउने लक्ष्य राखेको छ।