स्थापनाको करिब सात दशकपछि दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल (एयरपोर्ट) ले इतिहासकै सबैभन्दा ठूलो सरकारी बजेट पाएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले विमानस्थलको धावनमार्ग विस्तार तथा पूर्वाधार विकासका लागि २५ करोड रुपैयाँ विनियोजन गरेपछि लामो समयदेखि ओझेलमा परेको टरिगाउँ एयरपोर्ट पुनः चर्चामा आएको छ। यस निर्णयले स्थानीय व्यवसायी, राजनीतिक नेतृत्व र सर्वसाधारणमा नयाँ आशा जगाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत विनियोजित उक्त रकम मुख्यतः विमानस्थलको धावनमार्ग १,५०० मिटर पुर्याउन आवश्यक जग्गा व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणमा खर्च गरिनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गरेको बजेट वक्तव्य तथा रातो किताबमा समेत टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ छुट्याइएको उल्लेख छ।
२०११ सालदेखि विमान सेवा सञ्चालन हुँदै आएको टरिगाउँ विमानस्थलले पहिलोपटक यति ठूलो बजेट प्राप्त गरेपछि स्थानीय तहदेखि व्यवसायिक समुदायसम्म उत्साहित बनेका छन्। दाङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुबेदीले विस्तृत अध्ययन प्रतिवेदनका आधारमा धावनमार्ग विस्तार गरिने र भविष्यमा ७२ सिटे जहाज अवतरण गर्न सक्ने अवस्था सिर्जना गरिने बताए। उनका अनुसार विमानस्थलको स्तरवृद्धि बहुवर्षीय योजनाअन्तर्गत अघि बढाइनेछ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले टरिगाउँ विमानस्थलको इतिहासमै सबैभन्दा ठूलो बजेट प्राप्त हुनु दाङवासीका लागि सुखद समाचार भएको बताए। उनका अनुसार धावनमार्ग विस्तारको काम प्रभावकारी रूपमा सम्पन्न भए यसले दाङको पर्यटन, व्यापार, स्वास्थ्य तथा सेवा क्षेत्रको विकासमा ठूलो योगदान पुर्याउनेछ।
'सत्तरी वर्षपछि धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ बजेट आउनु आफैंमा ठूलो उपलब्धि हो,' अध्यक्ष केसीले भने, 'विमानस्थल विकासको सम्भावना बढेसँगै तुलसीपुर क्षेत्रमा ठूला होटल, आधुनिक अस्पताल र अन्य लगानीका विषयमा समेत चर्चा सुरू भएको छ।'
लुम्बिनी प्रदेशको राजधानी रहेको दाङमा सुविधा सम्पन्न विमानस्थल नहुँदा ठूला सरकारी तथा गैरसरकारी कार्यक्रमहरू आयोजना गर्न कठिनाइ हुने गरेको छ। हवाई पहुँच कमजोर भएकै कारण कतिपय कार्यक्रम भैरहवा वा नेपालगञ्ज सार्नुपर्ने अवस्था रहेको व्यवसायीहरूको गुनासो छ। विमानस्थल विस्तारले यस्तो समस्या समाधान हुने अपेक्षा गरिएको छ।
टरिगाउँ विमानस्थलको विकासका लागि तुलसीपुर उद्योग वाणिज्य संघले २०६० को दशकदेखि निरन्तर पहल गर्दै आएको छ। संघका पूर्वअध्यक्ष विमल रिजालका अनुसार एयरपोर्ट विस्तारको माग राख्दै विभिन्न सरकार, मन्त्री र शीर्ष नेताहरूलाई एक हजारभन्दा बढी ज्ञापनपत्र बुझाइएको थियो। तर लामो समयसम्म सुनुवाइ नभएपछि व्यवसायीहरू निराश बनेका थिए।
‘टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार भए त्यसले तुलसीपुरका साथै समग्र जिल्लाको विकासमा ठूलो भूमिका खेल्ने छ,’ रिजालले भने, ‘बहुप्रतिक्षित टरिगाउँ एयरपोर्टको विकासले जिल्लाको विकासमा आइब्रेकको काम गर्नेछ।’
हालको अवस्था
हाल टरिगाउँ विमानस्थलको कालोपत्रे धावनमार्ग ३० मिटर चौडा र ७५० मिटर लामो मात्र छ। यही छोटो धावनमार्गका कारण यहाँ १९ सिटे ट्विनअटरजस्ता साना जहाज मात्रै अवतरण गर्न सक्छन्। एयरपोर्ट प्रमुख प्रशान्त गौतमका अनुसार हाल साताको चार दिन उडान तालिका भए पनि जहाज अभावका कारण अधिकांश उडान रद्द हुने गरेका छन्। कतिपय साता एउटा मात्र उडान हुने अवस्था समेत देखिएको छ।
धावनमार्ग छोटो हुँदा ठूला जहाज सञ्चालन गर्न नसकिने र यात्रुहरूले महँगो भाडा तिरेर साना जहाज प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। त्यसैले धेरै यात्रु नेपालगञ्ज वा भैरहवा पुगेर हवाई यात्रा गर्न रूचाउँछन्।
२०७७ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक गिरीको पहलमा नयाँ टर्मिनल भवन र नियन्त्रण टावर निर्माण गरिएको थियो। २०७८ सालदेखि ती संरचनाहरू प्रयोगमा छन्। यद्यपि पर्याप्त उडान नहुँदा अपेक्षित लाभ लिन सकिएको छैन।
इन्धन र पूर्वाधारको क्षमता
नेपाल आयल निगम तुलसीपुरका प्रमुख विनोद बस्नेतका अनुसार विमानस्थल परिसरमा ५२ हजार लिटर क्षमताको इन्धन भण्डारण सुविधा छ। ३० हजार लिटर क्षमताको भण्डारण ट्यांकी तथा ११–११ हजार लिटर क्षमताका तीन वटा रिफ्युलर ट्यांकर उपलब्ध छन्। हालै एउटा आधुनिक रिफ्युलर समेत थपिएको छ।
बस्नेतका अनुसार यदि भविष्यमा एटिआरजस्ता ठूला जहाज सञ्चालन भए पनि हालको इन्धन संरचनाले दैनिक आधा दर्जनभन्दा बढी उडान सहज रूपमा धान्न सक्छ।
किन ओझेलमा पर्यो टरिगाउँ?
२०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल कुनै समय दाङको प्रमुख यातायात माध्यम थियो। त्यतिबेला काठमाडौं पुग्न सडक सञ्जाल विकसित नभएकाले दैनिकजसो उडान हुने गर्थ्यो। तर सडक पूर्वाधार विस्तार, वैकल्पिक यातायातको सहजता, यात्रुको संख्या घट्दै जानु तथा द्वन्द्वकालीन असुरक्षाजस्ता कारणले विमानस्थल क्रमशः ओझेलमा पर्दै गयो।
धावनमार्ग कालोपत्रे भएपछि २०७२ सालमा पुनः उडान सुरू भए पनि नियमित सञ्चालन हुन सकेन। राजनीतिक इच्छा शक्तिको कमी, केन्द्रमा प्रभावशाली पहुँचको अभाव तथा दाङभित्रै वैकल्पिक विमानस्थल निर्माणसम्बन्धी बहसले पनि टरिगाउँको विकास प्रभावित भएको स्थानीयहरूको बुझाइ छ।
यद्यपि यसपटक इतिहासमै पहिलोपटक ठूलो बजेट विनियोजन भएपछि दाङवासीमा आशा पलाएको छ। धावनमार्ग विस्तारका लागि थप करिब ६० बिघा जग्गा आवश्यक पर्ने अनुमान गरिएको छ। यसका लागि विमानस्थलसँग जोडिएका केही सरकारी तथा वन क्षेत्रका जग्गा अधिग्रहण गर्नुपर्ने सुझावहरू समेत आएका छन्।
लामो समयदेखि उपेक्षित टरिगाउँ विमानस्थलले अब नयाँ जीवन पाउने अपेक्षा गरिएको छ। बजेट कार्यान्वयन प्रभावकारी भए दाङको आर्थिक, पर्यटन तथा सामाजिक विकासमा यसले दूरगामी प्रभाव पार्ने विश्वास स्थानीयको छ।