नेकपा (एमाले) ले नुवाकोटको शेरा दरबारको जग्गाबारे गृहमन्त्रीसँग जबाफ माग गरेको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गा हिनामिना भएका विषय आएकोले त्यसबारे गृहमन्त्री रमेश लेखकसँग जबाफ मागेका हुन्।
बैठकमा गृहमन्त्री लेखक पनि सहभागी छन्।
‘शेरा दरबारको जग्गाबारे सञ्चारमाध्यमहरूमा समाचार आएका छन्, के भएको हो, कसरी अघि बढेको हो, गृहमन्त्रीले जबाफ दिनुपर्यो,’ उनले भने।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सहभागी छन्। दाहालले कानुनबमोजिम शेरा दरबारको जग्गा सरकारमातहत ल्याउनुपर्ने बताएका थिए।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ (साविक भैरवी गाविस ७) मा रहेको शेरा दरबार पृथ्वीनारायण शाहको पालामा बनेको थियो।
यहाँ दरबार र जग्गा गरी कुल १८४ रोपनी चार आना क्षेत्रफलको जग्गा छ। दरबारको जग्गा कुनै एक कम्पनीका नाममा नियन्त्रणमा रहेको विषय बाहिर आएको हो।