मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा सामाजिक सञ्जाल खोल्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेसका दुई मन्त्रीले ओलीको ध्यानाकर्षण गराए पनि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छैनन्।
एक मन्त्रीले दिएको जानकारी अनुसार जेन–जीको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिने बताएका थिए। कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमै राजीनामा दिने बताएर प्रधानमन्त्रीलाई जानकारी गराउन आएका गृहमन्त्री लेखकले सामाजिक सञ्जाल खोल्नुपर्ने धारणा राखेका थिए।
‘पार्टी सभापतिज्यूसँग पनि यहाँको कुरा भइसकेको छ, सामाजिक सञ्जाल खोल्नुपर्छ,’ लेखकले प्रधानमन्त्रीसमक्ष भनेका थिए।
मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि पार्टीको धारणा राख्दै सामाजिक सञ्जाल खोल्नुपर्ने मत राखेको अर्का मन्त्रीले बताए।
जबाफमा प्रधानमन्त्रीले सामाजिक सञ्जाल कर्पोरेट संस्था रहेको बताउँदै नेपालमा दर्ता, सूचीकरण हुनुपर्ने अडान राखेका थिए। मन्त्री पौडेलले सभापति शेरबहादुर देउवासँग पनि तपाईंको छलफल भइसकेको होला भनेपछि मन्त्रिपरिषदको निर्णयमा ‘सकारात्मक पहल गर्ने’ मात्रै लेखिएको छ।
‘कांग्रेसका दुई मन्त्रीले सामाजिक सञ्जाल खोल्नुपर्छ भने पनि प्रधानमन्त्री त्यति सकारात्मक देखिनुभएको छैन, उहाँ दर्ता नभइ खोल्नहुन्न भन्ने पक्षमा देखिनुहुन्छ,’ एक मन्त्रीले भने।
त्यस्तै मन्त्रिपरिषदको सोमबारको बैठकले जेन–जीको प्रदर्शनका क्रममा १९ जनाभन्दा बढीको मृत्यु र तीन सयको हाराहारीमा घाइते भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भएको छ। तर समिति कसको नेतृत्व बनाउने भनेरचाहिँ निर्णय गरिएको छैन।