अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजामा युद्ध अन्त्य गर्न इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमास दुवैलाई मनाएका छन्।
ट्रम्पको पहलपछि दुई वर्षदेखि चलेको युद्ध मात्रै रोकिएको छैन, दशकौंदेखिको प्यालेस्टिनी समस्या समाधान हुने समेत आशा पलाएको छ।
इसराइल–हमास युद्धविराम गराउन ट्रम्पका तर्फबाट उनका ज्वाइँ जेरेड कुश्नरले प्रमुख भूमिका खेलेका छन्।
पछिल्ला महिनामा ४४ वर्षीय कुश्नरले गजामा शान्तिका लागि अनौपचारिक रूपमा काम गरिरहेको समाचार केही समयअघि आएका थिए। अहिले भने उनी देखिएरै त्यसका लागि काम गर्न थालेका छन्।
ट्रम्पको २०–बुँदे योजना कार्यान्वयन गराउन कुश्नर र ट्रम्पका विशेष दूत स्टिभ विटकफ अहिले मध्यपूर्वमा छन्। ट्रम्प र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले गजामा शान्तिका लागि इजिप्टमा सोमबार हुने शिखर सम्मेलनको अध्यक्षता गर्दैछन्। त्यसका लागि गृहकार्य गर्न कुश्नर मध्यपूर्वमै छन्।
ट्रम्पकी छोरी इभान्का ट्रम्प र उनका पति कुश्नर दुवैले ट्रम्पको पहिलो कार्यकालमा विशेष सल्लाहकारका रूपमा काम गरेका थिए। यहुदी कुश्नरले त्यति बेला नै इसराइलको साउदी अरेबिया लगायत अरब राष्ट्रसँग सम्बन्ध सुधार्ने प्रयास गरेका थिए।
त्यसका लागि उनले साउदीको सहमतिमा संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, मोरक्को र सुडानसँग इसराइलको अब्राहम सम्झौता गराएका थिए। साउदीमा शासन गरिरहेका युवराज मोहम्मद बिन सलमान (एमबिएस) र उनी उस्तै उमेरका भएकाले दुई जनाबीच ज्यादै राम्रो सम्बन्ध बनेको थियो।
इरानलाई कमजोर पार्न ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर 'अब्राहम सम्झौता' भएको थियो। शिया बहुल इरानसँग सुन्नी बहुल साउदीको पनि लामो समयदेखि अमेरिका र इसराइलको जस्तै दुश्मनी छ।
ट्रम्पपछि राष्ट्रपति भएका जो बाइडेनले पनि मध्यपूर्वमा ट्रम्पकै नीतिलाई निरन्तरता दिएका थिए। त्यसै अनुसार बाइडेनले साउदी र इसराइलको समेत सम्झौता गराउन काम गरिरहेका थिए। त्यो सम्झौता भए इरान कमजोर हुने मात्रै नभएर प्यालेस्टिनीको समस्या ओझेलमा पर्ने ठानेरै हमासले २०२३ अक्टोबर ७ मा इसराइलमा हमला गरेको मानिन्छ।
आफ्नो पहलमा हुन लागेको सम्झौता भाँड्न सुरू भएको युद्ध अन्त्य गर्न कुश्नरले अहिले फेरि काम गरेका छन्।
उसो त कुश्नर र इभान्का दुवैले ट्रम्पको दोस्रो कार्यकालमा सरकारका तर्फबाट केही काम नगर्ने भनेका थिए। पहिलो कार्यकालमा कुश्नरले मध्यपूर्वमा कूटनीतिक भूमिका खेल्दै गर्दा साउदी, युएई लगायत देशसँग व्यक्तिगत व्यापारिक सम्बन्ध समेत विस्तार गरेका थिए।
उनका कम्पनीमा साउदी सरकारले लगानी गर्यो। अमेरिकाको मध्यपूर्व नीति हेर्ने मुख्य व्यक्ति र ट्रम्पका ज्वाइँ समेत भएकाले अरू अरब देशहरूबाट पनि व्यापारिक लाभ भयो। अझै पनि उनले व्यापारिक लाभ लिइरहेका छन्।
त्यसको विरोध त्यति बेला पनि भएको थियो। विपक्षी डेमोक्र्याटिक पार्टीले मात्रै नभएर ट्रम्पकै रिपब्लिकन पार्टीका केही नेताले समेत स्वार्थको द्वन्द्व (Conflict of interest) भएको औंल्याएका थिए।
ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन हारेर सत्ताच्युत हुने बेलामा कर छली लगायत कसुरमा जेलमा रहेका कुश्नरका बुबा चार्ल्स कुश्नरलाई माफी दिएका थिए। त्यसले कुश्नर परिवार झन् विवादमा तानिएको थियो।
यी विवादका कारण कुश्नर र इभान्का दुवैले गत वर्षको राष्ट्रपतीय निर्वाचनको प्रचारमा समेत सहभागिता जनाएनन्। एक छोरी र दुई छोरा लिएर उनीहरू फ्लोरिडाको मायामीमा बसेका थिए। ट्रम्पको पहिलो कार्यकालका कारण विस्तार भएको आफ्नो व्यवसाय हेर्नमै कुश्नरले ध्यान दिएका थिए।
तर पछिल्ला महिनामा इसरायल–हमास युद्ध अन्त्यका लागि कुश्नरले काम गर्न थालेको गाइँगुइँ चल्न थालेको थियो। पछिल्लो युद्धविरामको योजना मुख्यतः कुश्नर र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले झन्डै आठ महिना लगाएर बनाएको मानिन्छ। अगस्ट महिनामै ट्रम्प र उनका सहयोगीसँग भेटेर उनीहरूले गजामा शान्तिका लागि योजनाको खाका प्रस्तुत गरेको द न्यू योर्क टाइम्सले लेखेको छ।
इसराइल र अरब देश दुवैतर्फ राम्रो सम्बन्ध भएका कुश्नर र ब्लेयरले सो योजनाका लागि साउदी, युएई, कतार, इजिप्ट लगायत मुस्लिम देशलाई मनाएको भनिन्छ। त्यस अनुसार साउदी, युएई, कतार लगायत धनी देशले पुनर्निर्माण खर्च बेहोर्ने र ब्लेयर आफै त्यसमा खटिने खुलासा केही समयअघि भएको थियो।
सो योजनामा छलफल गर्न कतारको दोहामा भेला भएका हमास नेताहरूलाई मार्न इसराइलले सेप्टेम्बर ९ मा हमला गरेपछि वार्ता भाँडिने खतरा बढेको थियो।
अमेरिकाको सैन्य अखडा रहेको कतारमा शान्ति वार्ताका लागि भेला भएका हमास नेतामाथि इसराइलले गरेको हमलाको चौतर्फी निन्दा भएको थियो। सबै अरब राष्ट्रले त्यसको विरोध गरेका थिए। युद्ध रोक्न आफ्नो योजना तुहाउन नेतन्याहूले हमला गरेको ठानेर ट्रम्प पनि उनीसँग रिसाएका थिए।
त्यसपछि ट्रम्पले युद्धविरामका लागि नेतन्याहूमाथि व्यापक दबाब बढाएका थिए। सो योजना सफल बनाउन अरब देशहरूको माग अनुसार नेतन्याहूलाई ट्रम्पले कतारसँग माफी माग्न लगाएका थिए।
कतारका प्रधानमन्त्री मोहम्मद विन अब्दुल रहमान अल थानीसँग माफी माग्न सेप्टेम्बर २९ मा ह्वाइट हाउसमा रहेका नेतन्याहूलाई कुश्नरले नै फोन दिएको द वाल स्ट्रिट जर्नलले लेखेको छ। नेतन्याहूले अल थानीसँग के भन्ने भनेर पनि कुश्नर र विटकफले नै लेखेर खेस्रा तयार पारेका थिए।
नेतन्याहूले माफी मागिसकेपछि ट्रम्पले २०–बुँदे योजना घोषणा गरेका थिए।
सो योजना अनुसार हमाससँग रहेका बन्धक छुटाउन सहमत गराउन पनि कुश्नरले नै मुख्य भूमिका खेलेको द न्यूयोर्क टाइम्सले लेखेको छ।
अक्टोबर २ मा घोषणा भएको सो सहमतिका लागि मायामीमा रहेका कुश्नर त्यहाँ रहेको विटकफको घर गएका थिए। ट्रम्प र विटकफ जस्तै कुश्नरको परिवार पनि विगतमा घरजग्गा कारोबारमा संलग्न थियो। त्यसै कारण विटकफसँग ट्रम्पको जस्तै कुश्नरको पनि राम्रो सम्बन्ध छ।
फ्लोरिडाबाटै कुश्नर र विटकफले ट्रम्प र उनका मन्त्री, नेतन्याहू र अरब देशका नेताहरूसँग लगातार फोनमा कुरा गरेका थिए। उनीहरूको अथक प्रयासपछि भएको सो सहमति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलबाट घोषणा गरेका थिए।
यसपालि गजामा युद्धविराम गराउन कुश्नरले खेलेको भूमिकाको सर्वत्र तारिफ भएको छ। ट्रम्पको पहिलो कार्यकालमा अरब देशहरूबाट निजी फाइदा लिएको भनेर आलोचना गरेका डेमोक्र्याटिक नेताहरूले पनि उनको अहिलेको भूमिकाको प्रशंसा गरेका छन्।
प्यालेस्टिनी समस्याको साँच्चै दीर्घकालीन समाधान भयो भने त्यसको जस स्वाभाविक रूपमा ट्रम्पलाई जानेछ। तर मध्यपूर्वलाई दशकौंदेखि गिजोलेको समस्या सुल्झाउन कुश्नरले गरेको मेहनतको पनि उचित मूल्यांकन हुनेछ।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)