एउटै पार्टी निर्माण गरेर अघि बढ्ने छलफलमा रहेका उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठ फरक फरक बाटो हिँड्ने भएका छन्।
घिसिङ, श्रेष्ठ, हामी नेपालका संस्थापक सुदन गुरुङलगायत एउटै पार्टी निर्माण गरेर अघि बढ्ने छलफलमा थिए। तर दुवै जना अब सँगै नजाने लगभग तय भएको छ।
सेतोपाटीसँगको कुराकानीमा सुमना श्रेष्ठले तत्कालका लागि छुट्टाछुट्टै अघि बढ्ने कुराकानी भएको पुष्टि गरिन्।
‘के भयो, कस्तो भयो अहिले भन्नु उपयुक्त हुँदैन’, सुमनाले भनिन्, ‘तर अहिले हि ह्याज मूभ अहेड। आइ विस हिम अल द बेस्ट। (उहाँ अघि बढिसक्नुभयो। मेरो शुभकामना छ।)’
सुमनाले चुनावका बेला फेरि सँगै अघि बढ्ने विषयमा छलफल हुन सक्ने बताइन्।
‘हामीलाई निर्वाचनका बेला अझै ‘अलायन्स’ गरेर जाने मौका छ। सबै मानिस एक ठाउँमा आउने अवस्था बन्न सक्छ’, उनले भनिन्, ‘मैले अहिले देखेको भनेको प्रष्ट भएर अघि बढ्नुपर्छ तर चुनावकेन्द्रित भएर फेरि कुराकानी हुनसक्छ।’
सुमनानिकट स्रोतका अनुसार कुलमानलाई अध्यक्ष मान्न उनी तयार भएकी थिइन् तर कुलमानले पूर्वसचिव अनुपकुमार उपाध्यायको नाम अघि सारेपछि असनुष्टि जनाइन्। कुलमानले मन्त्री पदबाट राजीनामा दिनुपर्ने र संगठन निर्माणमा लाग्नुपर्ने सुमना पक्षको माग थियो।
‘सुमनाजीले कुलमान घिसिङलाई मिलेर जाऔं, मन्त्री छाडेर आउनुहोस्। तपाईं अध्यक्ष हुनुहोस्। संगठन विस्तारमा जाऔँ भन्नुभएको थियो’, सुमनाका एक सहयोगीले भने, ‘तर उहाँले पूर्व सचिवको नेतृत्वमा अघि बढौ| भन्नुभयो।’
कुलमानले पूर्व सचिवको नाम अघि सारेपछि सुमनाले यसरी पार्टी खोल्नु सरासर जेनजी आन्दोलनको अवमूल्यन हुने धारणा राखेको ती सहयोगले बताए।
‘जेन–जी मुभमेन्टपछि बन्न लागेको पार्टी भएकाले जेनजीको नेतृत्व हुनुपर्छ भन्ने कुरा सुरूमा सुमनाजीले राख्नुभएको थियो’, ती सहयोगीले भने, ‘तर जेन–जी सबै कुलमानको नेतृत्व मान्न तयार भए तर उहाँले पूर्वसचिव अध्यक्ष बनाएर जान प्रस्ताव गरेपछि जेन–जीहरू समेत बिच्किएका छन्।’
सुमनाको लामो असहमतिका बाबजुद अन्तत: पार्टीको नाम उज्यालो नेपाल नै राख्ने निर्णय
लामो समयको गृहकार्यपछि कुलमान घिसिङले पार्टी गठन गर्न लागेका छन्।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने गृहकार्य थालेका हुन्।
यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहनेछन् भने सरकारमा मन्त्री रहेकोले कुलमान भने तत्काल उज्यालो नेपाल पार्टीमा सक्रिय हुने छैनन्।
उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको हो।
उज्यालो नेपाल अभियान सञ्चालन गरिरहेका कुलमानले नयाँ पार्टी बनाउन लागेका हुन्। यो अभियानमा जोडिएका जितराम लामाले उज्यालो नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको सेतोपाटीलाई जानकारी दिए।
‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ उनले भने।
यो पार्टीमा रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठ पनि रहनेछिन्। तर ५१ सदस्यीय समितिमा अहिले उनी रहने वा नरहने यकिन भइसककेको छैन।
सुमनाले उज्यालो नेपालभन्दा पनि नेपाल विकास दल, नेपाल जनसेवा पार्टी नाम राख्न सुझाव दिएकी थिइन्।
तर कुलमान सुरूदेखि नै उज्यालो नेपाल नाम राख्नुपर्नेमा थिए। लोडसेडिङ हटाएको र उज्यालो नेपाल ब्राण्ड रहेको भन्दै उक्त नाम नै राख्नुपर्ने उनको भनाइ थियो।
तर सुमनाले उज्यालो नेपाल नाम राख्दा व्यक्तिकेन्द्रित पार्टीजस्तो हुने र त्यसले सामूहिकताको भावना ल्याउँदैन भन्दै फरक फरक नाम सुझाव दिएकी थिइन्। चुनाव चिह्न पनि बिजुलीको चिम राख्न नहुनेमा उनी थिइन्।
‘सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् बनाए कस्तो होला? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न?’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी थिइन्।
नाम के राख्ने भन्नेबारे आइतबार पनि छलफल भएको थियो।
यो छलफलमा रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीमा रहेका केही नेताहरू पनि सहभागी थिए। छलफलमा उनीहरूले पनि उज्यालो नेपाल नाम राख्न जोड दिए।
‘नाउपाका कतिपय साथीहरू पनि छलफलमा आउनुभएको थियो। उहाँहरूले उज्यालो नेपाल नै पार्टीको नाम राख्न उपयुक्त हुन्छ भन्नुभयो,’ स्रोतले भन्यो, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहनिकटले पनि उज्यालो नेपाल नै उपयुक्त हुन्छ भन्नुभएकोले त्यही नाम राख्ने सहमति जुट्यो।’