नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
भोलि सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
कांग्रेसमा तत्काल केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्ने गरिन्छ।
यो बैठकले गर्ने निर्णय पछि केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ।
सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केही पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग आज निवासमा छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतका आधारमा वैशाख मसान्तमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो।
उक्त कार्यतालिकामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले फरक मत राखेका थिए।
उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार पुस २८ भित्र विशेष महाधिवेशन विधानअनुसार बाध्यात्मक रहेको बताउँदै आएका छन्।