प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
बुधबार उनीहरूबीच हात्तिगौडास्थित रविको निवासमा चार घण्टा भेटवार्ता भएको उच्च स्रोतले बतायो।
रास्वपा सभापति लामिछाने हालै भारतमा तीर्थाटन गरी नेपाल फर्किएका हुन्। नेपाल फर्किएपछि प्रधानमन्त्री बालेन उनलाई भेट्न पुगेका हुन्।
भेटमा भारत भ्रमणका साथसाथै सांसद खगेन्द्र सुनार, नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, निजामति कर्मचारी सम्बन्धि विधेयक अध्यादेशमार्फत ल्याउने लगायतका विषयमा छलफल भएको हो।
पछिल्लो समय सांसद खगेन्द्र सुनारले एक महिलामाथि फोनमार्फत दुर्व्यवहार गरेको आरोप लागेपछि रास्वपाले आन्तरिक रूपमा छानबिन गरिरहेको छ।
स्रोतका अनुसार दुई जनाबीच नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीको विषयमा पनि छलफल भएको हो। विभिन्न मिडियाले उनलाई हटाउन लागेको भन्ने चर्चा गरेका छन्। यस विषयमा पुष्टि भने भइसकेको छैन।
निर्वाचनको बेलामा पोशाक खरिद गर्दा भ्रष्टाचार भएको भन्दै सांसद सुनारले प्रश्न उठाउँदै आएका थिए। यो घटनामा संसदीय समितिले समेत छानबिन गरिरहेको छ।
त्यसैगरी, सरकारले पछिल्लो समय निजामती कर्मचारी ऐन ल्याउन खोजेको छ। संघीय संसद सचिवालयमा दर्ता भइसकेको विधेयकलाई सरकारले फिर्ता लिएको छ।
फिर्ता लिएर अध्यादेशमार्फत ल्याउन खोजेपछि कर्मचारीहरूबीच खैलाबैला मच्चिएको छ। यस ऐनले ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर हद पुगेकाहरूलाई अवकाशमा पठाउने तयारी गरेको हो।
यस बाहेक मन्त्रिमण्डल, पार्टी, सांसदका विविध विषयमा पनि छलफल भएको थियो।