केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको अन्तिम तयारीबारे सुरक्षा निकायसँग जानकारी लिएका छन्।
आइतबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनको तयारीबारे जानकारी लिएका छन्।
त्यस्तै, विभिन्न धार्मिक समुदायहरू र एक अर्काका धर्मबीच लक्षित गरेर विभिन्न सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने घटनाहरू भएकोमा यसमा विशेष रूपमा छलफल केन्द्रित रहेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय भएको उनले बताए। त्यस्तै, स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने र प्रदेश र स्थानीय सरकारहरूलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको उनले बताए।
यसैगरी, धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको बैठक बस्ने निर्णय भएको छ।
जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीहरूको पक्राउ गर्ने अभियानलाई अझ बढी तदारुकता प्रदान गर्दै सुरक्षा निकायहरूको विशेष अपरेशनलाई थप क्रियाशीलता दिनेबारेमा विस्तृत छलफल गर्ने निर्णय भएको छ।