अमेरिकाले विदेशमा अनावश्यक सैनिक हस्तक्षेप गरेको भन्दै राजनीति सुरू गरेका डोनाल्ड ट्रम्पले सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका छन्।
अमेरिकाले भेनेजुएला चलाउने र त्यहाँको तेल बेच्ने खुल्लम खुला घोषणा पनि गरेका छन्।
'अमेरिका फर्स्ट' भन्दै आफूअघिका राष्ट्रपतिहरूको जस्तो अरू देशको मामिलामा नचाहिँदो चासो नदेखाउने वाचामा दोस्रो कार्यकाल जितेका ट्रम्पले एक वर्ष नबित्दै इरान र भेनेजुएलामा सैन्य हस्तक्षेप गरेका छन्।
इरानका आणविक भट्टीहरूमा आक्रमण गरेको ६ महिनामै भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अपहरणको शैलीमा पक्राउ गरेका छन्।
एउटा सार्वभौम देशमा पसेर त्यहाँको राष्ट्रपतिलाई पक्राउ गरेको यो घटनाको अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको ठाडो उल्लंघन हो।
लागुऔषध तस्करी गरेको भन्दै मदुरो विरूद्ध पाँच वर्ष पहिल्यै अमेरिकाले आफ्नो देशमा मुद्दा चलाएको थियो। अहिले पक्राउ गरेर अमेरिका पुर्याएपछि फेरि अर्को अभियोग पत्र दर्ता गरेको छ।
त्यस्तै मदुरोले तस्करी गरेको लागुऔषधका कारण दसौं हजार अमेरिकीको मृत्यु भएको भन्दै ट्रम्पले त्यसलाई अमेरिका विरूद्ध आक्रमणको संज्ञा दिएका छन्। त्यही रोक्न 'आत्मरक्षा' मा यो कारबाही गर्नुपरेको भनेर उनले पछिल्ला केही सातादेखि तर्क गर्दै आएका छन्।
अमेरिकाले आफ्नो कदमलाई कानुनी रङ दिन जति प्रयास गरे पनि यो कार्य गैरकानुनी भएको अमेरिकाकै अन्तर्राष्ट्रिय कानुनविदहरूले जिकिर गरेका छन्।
ट्रम्पले दाबी गरेजस्तो मदुरोले साँच्चै अमेरिकामा लागुऔषध तस्करी गरेको भए पनि राष्ट्र प्रमुखका हिसाबले उनीमाथि मुद्दा चलाउन मिल्दैन। गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली गरेर जितेको भए पनि मदुरो भेनेजुएलामा शासन गरिरहेका राष्ट्र प्रमुख थिए।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले विगत केही महिनादेखि बारम्बार अमेरिकाले मदुरोलाई राष्ट्रपतिका रूपमा मान्यता नदिएको औंल्याउँदै आएका छन्। त्यसो भनेर राष्ट्र प्रमुखका हैसियतमा पाउने उन्मुक्ति मदुरोले नपाउने रूबियोले भन्न खोजेका हुन्।
अमेरिका लगायत धेरै पश्चिमा देशले मान्यता नदिए पनि र मदुरोले धाँधली गरेर चुनाव जितेको भए पनि उनी नै भेनेजुएलाका राष्ट्रपति थिए। रूबिओले दाबी गरे जस्तो मदुरो वैधानिक राष्ट्रपति नै नभए पनि उनलाई पक्रिन अमेरिकाले अर्को देशमा सैन्य हमला गर्न पाउँदैन।
त्यस्तै ट्रम्पले जे जे तर्क गरे पनि आत्मरक्षाको बहानाले पनि यो मामिलामा काम गर्दैन।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अनुमति बिना कुनै पनि देशमा आक्रमण गर्न मिल्दैन। आत्मरक्षाका लागि अर्को देशमा आक्रमण गर्न संयुक्त राष्ट्र संघले दिएको अधिकार सैन्य आक्रमण भए मात्रै प्रयोग गर्न मिल्ने कानुनविदहरूले औंल्याएका छन्। लागुऔषध तस्करी गरेका कारण अर्को देशमा आक्रमण गर्न पाइने हो भने अरू अनेकथरी बहानामा पनि त्यसो गर्न मिल्ने र अर्को देशमा हमला गर्न नपाउने कानुनकै धज्जी उड्ने तर्क उनीहरू गर्छन्।
यसरी ट्रम्पले मदुरोलाई पक्राउ गरेको पछिल्लो घटना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार वर्षअघि युक्रेनमा गरेको आक्रमण जस्तै गैरकानुनी हो।
सन् २००३ मा अमेरिकाले इराकमा गरेको आक्रमणको जति पनि यसको कानुनी हैसियत छैन।
त्यति बेला त संयुक्त राष्ट्र संघले सन् २००२ मा एक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै इराकलाई निशस्त्रीकरण गर्न अन्तिम अवसर भएको र पालना नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो। आक्रमण गर्नुअघि पनि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले अमेरिकी संसदबाट अनुमति लिएका थिए। अनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदबाट अनुमति लिने प्रायस गरेका थिए।
भेनेजुएलामा आक्रमण गर्न ट्रम्पले संयुक्त राष्ट्र संघको त के कुरा, अमेरिकाकै संसदको समेत अनुमति लिएनन्। सांसदले थाहा पाएको भए उनीहरूले यो योजना चुहाएर मदुरोलाई जोगाउने थिए भनेर ओठेतर्क दिए।
यो सैन्य आक्रमण नभएर कानुन पालना गर्न न्याय मन्त्रालयले गरेको कारबाही भएको रूबिओले जिकिर गरे। अनि न्याय मन्त्रालयले सेनासँग सहयोग मात्रै मागेकाले संसदबाट अनुमति लिनुनपर्ने दाबी गरे।
उनले जे जे भने पनि अमेरिकी कानुन पालना गर्न अर्को देशमा सैन्य आक्रमण गर्न मिल्दैन।
अब भेनेजुएलामा आगामी दिनमा के होला भन्नेबारे चर्चा गरौं।
घटनाक्रम अझै पनि विकसित भइरहेकाले के हुन्छ भन्ने अहिले नै ठोकुवा गर्न सकिँदैन। तर ट्रम्पले स्पष्ट शब्दमा अमेरिकाले भेनजुएला चलाउने भनेकाले अबका दिनमा अमेरिकाकै चाहना अनुसार त्यहाँ शासन हुने देखिन्छ।
अमेरिका जस्तो शक्तिशाली देशलाई कुनै पनि देशमा आक्रमण गरेर सत्ता पल्टाउन सजिलो भए पनि भोलिका दिनमा कसरी सो देशमा शासन चलाउने भन्ने चुनौतीपूर्ण हुन्छ। कुनै पनि कदम चाल्नुअघि खासै नसोची लहडमा निर्णय लिने ट्रम्पले भेनेजुएलामा कसले शासन चलाउँछ भनेर धेरै सोचे होलान् भन्ने ठाउँ पनि छैन।
कतिले त खासमा उनको उद्देश्य सैन्य आक्रमण गर्ने थिएन भन्छन्। भेनजुएला वरिपरि त्यत्रो अमेरिकी सेना परिचालन गरेको देखेर मदुरोले आफै सत्ता छोडून् भन्ने उनको चाहना रहेको मानिन्छ।
मदुरोले नछाडेपछि उनलाई सत्तामा रहिरहन दिनु आफूलाई सर्वशक्तिमान ठान्ने ट्रम्पका लागि प्रतिष्ठाको विषय भयो।
डिसेम्बरको अन्त्यतिर पनि ट्रम्पले मदुरोलाई टर्की वा अरू कुनै देशमा शरण लिन दिने भनेको बताइन्छ। तर मदुरोले त्यसलाई स्वीकार गरेनन्। उल्टै मदुरोले पछिल्लो समय सार्वजनिक कार्यक्रममा नाचेर र हँसीमजाक गरेर आफूलाई गिज्याएको ट्रम्पले महसुस गरे।
त्यस कारण पनि आक्रमण गर्नुपर्ने निष्कर्षमा अमेरिका पुगेको द न्यूयोर्क टाइम्सले लेखेको छ।
भोलिका बारेमा ट्रम्पले खासै योजना नबनाएकै भए पनि भेनजुएलामा केही समय अमेरिकाकै खटन चल्ने देखिन्छ। चीन र रूसले विरोधमा विज्ञप्ति निकाले पनि अमेरिकालाई रोक्न सक्ने देखिँदैन।
मदुरो पक्राउ पर्नु केही घन्टाअघि उनले चीनका राष्ट्रपति सी चिनफिङका दक्षिण अमेरिकाका लागि विशेष दूतलाई भेटेका थिए। अमेरिकाले भेनजुएलामा आक्रमण गर्दै गर्दा चिनियाँ टोली देशमै रहेको हुन सक्ने फरेन पोलिसी डटकमले जनाएको छ।
यसबाट चीन वा रूसले के गर्लान् भनेर ट्रम्पले खासै सोचे जस्तो देखिँदैन।
हाललाई मदुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले शासनको बागडोर हातमा लिएकी छिन्। उनले अमेरिका विरूद्ध आक्रामक बयान दिए पनि अमेरिकी चाहना विपरीत उनले केही गर्न सकिने देखिँदैन।
अमेरिकाले आक्रमण गर्नुअघि नै उनले अमेरिकी विदेश मन्त्री रूबिओसँग कुराकानी गरेको भन्ने समाचार आएका छन्। कतिले त अमेरिकी आक्रमणमा समेत उनको सहयोग रहेको भन्दै त्यसको बदलामा उनलाई अमेरिकाले सरकार चलाउन दिने भनेका छन्।
ट्रम्पले शनिबार गरेको पत्रकार सम्मेलनमा पनि रोड्रिगेजले नै शासन गर्ने संकेत गरे। रोड्रिगेजले भर्खरै रूबिओसँग कुरा गरेको र अमेरिकाले भने जस्तै गर्न तयार रहेको उनले बताएको दाबी गरे।
उसो त रोड्रिगेज चाहेर पनि अमेरिका विरूद्ध जान सक्ने छैनन्। आफूले भने जस्तो नभए अमेरिकाले थप सैन्य हमला गर्नेछ। मदुरोजस्तै आफूमाथि पनि हमला हुनेछ भनेर रोड्रिगेज लगायत सत्तामा रहेका सबैलाई थाहा भएको छ।
अर्कोतर्फ, आफूले घोषणा गरे जस्तो भेनजुएलाको तेलमा अमेरिकी अधिकार भएन भने ट्रम्पका लागि इज्जतको विषय बन्नेछ। उनले झनै भीषण आक्रमण गरेर भए पनि अमेरिकी प्रभाव स्थापित गर्नेछन्।
पछिल्लो समय भेनजुएलाको तेलमा अमेरिकी पहुँच दिन मदुरो स्वयं पनि तयार थिए। त्यसैले पनि रोड्रिगेजलाई त्यसो गर्न सजिलो हुनेछ।
रोड्रिगेजलाई शासन गर्न दिनु रणनीतिक हिसाबले पनि सही देखिन्छ। मदुरोलाई पक्राउ गरे पनि भेनेजुएलामा उनी निकटको सेना लगायत अरू संरचना अझै बाँकी छन्। उनीहरूलाई हटाएर कुनै विपक्षी नेतालाई सत्ता चलाउन दिए तिनले प्रतिकार गर्न सक्छन्।
त्यसो भएमा अमेरिकाले ठूलो संख्यामा सेना पठाएर हिंसात्मक नियन्त्रण गर्नुपर्ने हुन्छ। अमेरिकी सर्त अनुसार मदुरो निकटकैलाई शासन गर्न दिए कुनै पनि रक्तपात हुने छैन।
सन् २००३ मा सद्दाम हुसेनलाई हटाएपछि सेना र कर्मचारीतन्त्रका लगभग सबैलाई हटाएर गल्ती गरेको भनेर अमेरिकालाई महसुस भएको छ। सद्दामले राखेको शक्तिशाली विशेष दस्ताका सैनिकहरूलाई निकालेकाले उनीहरू नै पछि आइएसआइएसमा लागेर इराक र सिरियाको आधाभन्दा धेरै भाग कब्जा गरे।
त्यसबाट पाठ सिकेर पनि अमेरिकाले भेनेजुएलामा अहिले धेरै नचलाउन खोजेको हुन सक्छ।
सायद, त्यसैले ट्रम्पले शनिबारको पत्रकार सम्मेलनमा भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले शासन नचलाउने स्पष्ट पारेका हुन्। मचाडो असल भए पनि देशभित्र उनको समर्थन नभएको भन्दै उनलाई शासन चलाउन गाह्रो हुने ट्रम्पले औंल्याए।
त्यसैले रोड्रिगेज वा मदुरो निकट रहेका कसैले नै आगामी दिनमा शासन चलाउने देखिन्छ। उनीहरूले केही हदसम्म विपक्षीसँग शक्ति बाँड्ने छन् भने जनताले बिस्तारै प्रजातान्त्रिक अधिकार पाउनेछन्।
अमेरिकाले लगाएको नाकाबन्दी फुकुवा भएपछि र अमेरिकी कम्पनीले निकालेको तेल बेचेपछि अर्थतन्त्र पनि सुधार हुनेछ। अनि निश्चित समयपछि त्यहाँ निर्वाचन हुनेछ। त्यस्तोमा अहिले ट्रम्पले शासकका रूपमा स्थापित नगरेकोमा मचाडोलाई फाइदा हुन सक्छ।
विदेशीले टिपेर बनाएको शासक भन्दा जनताको भोट जितेर सत्तामा पुग्नु मचाडो वा अरू कुने विपक्षी नेताका लागि राम्रो हुनेछ।
ट्रम्पले गैरकानुनी रूपमा मदुरोलाई पक्रे पनि थप हिंसा भएन भने भेनजुएलाका जनतालाई पनि यो कदमले फाइदा हुनेछ।
भेनेजुएला विश्वमै सबभन्दा धेरै तेल भएको देश हो। तर अमेरिकाको नाकाबन्दी र मदुरोको कुशासनका कारण भेनेजुएलामा चरम गरिबी छ। त्यसमाथि आफ्नो साथ नछोडून् भनेर मदुरोले सैनिक जनरल लगायत अरू उच्च पदस्थ अधिकारीलाई भ्रष्टाचार गर्न छुट दिएकाले सीमित स्रोत साधनको पनि चरम दोहन भएको छ।
अमेरिकी कम्पनीले तेल निकालेर बेचे भने अमेरिका मात्रै नभएर भेनेजुएलालाई पनि फाइदा हुनेछ। पछिल्लो एक दशकमा संकटग्रस्त भएको अर्थतन्त्रले केही वर्षसम्म धेरै उच्च आर्थिक वृद्धि हासिल गर्नेछ।
त्यसले भेनेजुएलाका जनताको जीवनस्तर पनि उक्सिने छ। अनि भेनेजुएला फेरि दक्षिण अमेरिकाको सबभन्दा समृद्ध राष्ट्रहरूमध्ये पर्नेछ।
अब पछिल्लो घटनाले ल्याटिन अमेरिकामा पार्न सक्ने प्रभावबारे चर्चा गरौं। ट्रम्पले शनिबारको पत्रकार सम्मेलनमा कोलम्बिया र मेक्सिकोबाट पनि अमेरिकामा लागुऔषध तस्करी हुने गरेको कुरा फेरि उप्काए।
यसबाट कतिले ती देशमा पनि अमेरिकाले आक्रमण गर्न सक्ने अड्कल काटेका छन्।
ट्रम्पले भेनेजुएलामा गरेको आक्रमणका कारण लागुऔषध तस्करी नियन्त्रण गर्न ती देशलाई थप दबाब पर्ने भए पनि अमेरिकाले हमला नै गर्ने खतरा भने हाललाई न्यून छ।
तर अमेरिकाको ढोकैमा रहेको कम्युनिस्ट क्युबामा भने आक्रमण नभए पनि सत्ता पल्टिन सक्ने खतरा बढेको छ।
भेनेजुएलामा गरेको आक्रमणमा विशेषतः अमेरिकी विदेश मन्त्री रूबिओको भूमिका प्रमुख रहेको मानिन्छ।
ट्रम्पले दोस्रो कार्यकालको सुरूमा भेनेजुएलामाथि तुलनात्मक रूपमा नरम नीति लिएका थिए। उनले अमेरिकी कम्पनी शेभरोनलाई भेनेजुएलामा तेल उत्खननको लाइसेन्स समेत दिएका थिए। अनि तेलबारे कुरा गर्न दूत नै भेनेजुएला पठाएका थिए।
तर रूबिओले बिस्तारै मदुरोलाई सत्ताच्यूत नै गर्नुपर्छ भनेर ट्रम्पलाई मनाए।
ट्रम्प र उनका कट्टर समर्थकले विदेशमा हस्तक्षेपको विरोध गर्छन्। तर पनि अमेरिकाले संसारभर शक्ति परिचालन गर्नुपर्छ भन्ने परम्परावादी रिपब्लिकन धारका रूबिओले उनलाई सैन्य आक्रमणका लागि मनाए।
त्यसका लगि भेनजुएलाको असीमित तेलप्रति ट्रम्पको चरम लोभको रूबिओले फाइदा उठाए। मदुरोसँग वार्ता गरेर अमेरिकाले पाउनेभन्दा धेरै तेल उनलाई हटाएर पाउनेछ भनेर ट्रम्पलाई सम्झाए।
वामपन्थी विचारधाराका मदुरोलाई सत्ताच्युत गरेपछि रूबिओको निशानामा अब क्युबा पर्न सक्ने देखिन्छ।
क्युबाका आप्रवासीका सन्तान रूबिओ लामो समयदेखि त्यहाँको कम्युनिस्ट शासक विरूद्ध आक्रामक छन्। अमेरिकी नाकाबन्दीका कारण आर्थिक संकटमा रहेको क्युबालाई लामो समयदेखि भेनजुएलाले सित्तैमा तेल दिएर भरथेग गरेको थियो।
पछिल्लो दशकमा भेनजुएला आफै संकटमा रहेको र तेल उत्पादन पनि घटेकाले सहयोग पनि घटेको थियो।
त्यस कारण पछिल्लो समय क्युबाको अर्थतन्त्र झन् संकटमा छ।
क्युबाका लागि भेनेजुएलाको सहयोग अहिले पनि महत्वपूर्ण छ।
मदुरो सत्ताच्युत भएपछि यो सहयोग पूर्ण रूपमा ठप्प हुने देखिन्छ। यसले क्युबाको अर्थतन्त्र झनै संकटमा परेर कम्युनिस्ट शासन आफै ढल्न सक्नेछ।
आफै नढले पनि भेनेजुएलामा सफल भए पछि हौसिएर अमेरिकाले क्युबामा आक्रमण नै गरेर भए पनि सत्ता पल्टाउने खतरा रहनेछ।