नेकपा एमाले मोरङका ३ वटा क्षेत्रीय कमिटीले विनोद ढकाललाई प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेका छन्।
लामो समय अध्यक्ष केपी शर्मा ओलीको टिममा रहेका मोरङका नेता ढकाल पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी–ईश्वर पोखरेल समूहमा छन्।
पार्टीको ११ औं महाधिवेशनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष पोखरेलको समूहबाट सचिवको उम्मेदवार बनेर पराजीत बनेका ढकाललाई मोरङ क्षेत्र नम्बर १, ४ र ६ नम्बर क्षेत्रीय कमिटीले उम्मेदवारका रूपमा सिफारिस गरेका हुन्।
फागुन २१ गते मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेभित्र उम्मेदवारहरूको नाम धमाधम सिफारिस भइरहेको छ।
आइतबार मोरङका क्षेत्रीय कमिटीहरूले प्रत्यक्षतर्फको नाम सिफारिस गरेको मोरङ उपाध्यक्ष सागर थापाले जानकारी दिए।
‘विनोद ढकालको नाम १, ४ र ६ नम्बर क्षेत्रबाट सिफारिस भएको छ,’ उनले भने।
नेता ढकाल २०७९ को चुनावमा मोरङ ४ बाट उम्मेदवार थिए। त्यसबेला उनी कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका अमनलाल मोदीसँग पराजित भएका थिए।
एमालेमा यसअघि चुनाव जितेका अध्यक्ष ओलीसहितका उनका टिमका केहीको नाम एकल सिफारिस भइरहँदा मोरङमा भने कसैको पनि एकल नाम सिफारिस भएको छैन।
०७९ को निर्वाचनमा जिल्लाका ६ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा मात्रै एमाले उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका थिए। उनले कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरेका थिए।
यसपटक पोखरेलको पनि नाम एकल सिफारिसमा परेन। त्यस्तै मोरङ ३ बाट उठ्दै आएका, २०७४ मा जितेर २०७९ मा कांग्रेसका सुनिल शर्मासँग हारेका सचिव भानुभक्त ढकालको नाम पनि एकल सिफारिस भएन।
मोरङ २ का निवर्तमान एमाले सांसद पोखरेल प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति भएका थिए। उनकी पत्नी अन्जला कोइरालाको नाम सहकारी ठगीमा जोडिएपछि पोखरेल पनि विवादमा परेका थिए।
एमाले नेताहरूले दिएको जानकारी अनुसार मोरङ १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, अग्नी भट्टराई, विनोद ढकाल, शान्ति लिम्वु, योगेश वस्नेत, डिल्लीशर्मा अधिकारी, भूपाल जिमीको नाम सिफारिस भएको छ।
मोरङ २ बाट ऋषिकेश पोखरल, रंगेली नगर प्रमुख दिलिप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझाको नाम सिफारिस हुँदा क्षेत्र नं ३ बाट भानुभक्त ढकाल, बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुरागाई , इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरूङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापाको नाम सिफारिस भएको छ।
क्षेत्र नं ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र वस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मीना चौधरी, निमा बस्नेत लगायतको नाम सिफारिस भएको छ।
क्षेत्र नं ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव, दिलसाद आलम र मनोज अग्रवाल, विक्रम तिवारीको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ।
क्षेत्र नं ६ बाट विनोद ढकाल, लालबाबु पण्डित, पर्शुराम वस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रिता न्यौपानेको नाम सिफारिस गरिएको छ।
यी नामहरू जिल्लामा सिफारिस भएको र सोमबार बस्ने जिल्ला सचिवालय बैठकले प्रदेशमा पठाउनेछ।