राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा बालेन शाह निकट सुनिल लम्सालको नाम प्रस्ताव भएको छ।
जारी केन्द्रीय समिति बैठकमा काठमाडौंका मेयर शाहको तर्फबाट महामन्त्रीमा लम्सालको प्रस्ताव भएको स्रोतले बतायो।
त्यस्तै, सहमहामन्त्रीमा भूपदेव शाहको नाम प्रस्ताव भएको छ। लम्साल बालेनको सचिवालय सदस्य छन्। शाह भने स्वकीय सचिव हुन्।
रास्वपासँग एकता गरेका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङका तर्फबाट पदाधिकारीमा कति जना समावेश गर्ने भन्नेबारे पनि सहमति भएको थियो।
बालेन समूहबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने सहमति भए अनुसार सुनिल लम्साल र भूपदेव शाहको नाम प्रस्ताव गरिएको हो।
स्रोत अनुसार बालेनका तर्फबाट २५ जनाभन्दा बढी केन्द्रीय सदस्य समावेश हुन सक्छन्। तीमध्ये केही जेनजी प्रतिनिधिलाई पनि समावेश गर्ने तयारी छ।
'बालेनजीको तर्फबाट केही जेनजी प्रतिनिधिसमेत गरी २५ जनाभन्दा बढी केन्द्रीय सदस्यको नाम सिफारिस भएको छ। बैठक चलिरहेको छ,' स्रोतले भन्यो।
रास्वपाले बालेनलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति गरेको छ।
त्यस्तै, उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङलाई रवि लामिछानेपछि पहिलो वरीयताको उपसभापति बनाइएको छ। सहमति अनुसार कुलमानका तर्फबाट सहमहामन्त्री र सहप्रवक्ता नियुक्त गर्ने सहमति छ।
वरीयतामा कुलमानपछिका उपसभापतिमा डिपी अर्याल र स्वर्णिम वाग्ले छन्। अहिले रास्वपामा कबिन्द्र बुर्लाकोटी एक जना महामन्त्री छन्। सहमहामन्त्री पनि विपिन आचार्य मात्र छन्।
सहप्रवक्ता भने प्रतिभा रावल र रमेश प्रसाईं छन्।