पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।
सोमबार भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई तोकेको स्थान हद फुकुवा गरेको हो।
यसअघि उनलाई असोज १२ गते विदेश जान र अनुमतिबिना काठमाडौं उपत्यका छाड्न रोक लगाइएको थियो। आयोगले विज्ञप्ति जारी गर्दै ओलीसँग आइतबार सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेको समेत उल्लेख गरेको छ।
योसँगै झन्डै सयदिन भन्दा लामो स्थान हद फुकुवा भएको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा स्थान हदको फुकुवाबारे ओलीलाई जानकारी दिने उल्लेख छ।
यसअघि ओलीले आफूमाथि स्थानहद लगाइएको जानकारी समेत नदिएको बताउँदै आएका थिए।
