सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सो अनुदान उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
त्यसैगरी बैठकले घनश्याम पराजुलीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गरेको छ।
राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा पनि गरिएको छ।
समस्याग्रस्त सहकारी संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धि कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको पनि मन्त्री खरेलले बताएका छन्।
मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र, नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२ वन तेस्रो संशोधन नियमावली २०८२ पनि बैठकले स्वीकृत गरेको मन्त्री खरेलले निर्णय सुनाउँदै बताएका छन्।