राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व साथै थरूहट/थारूवान अभियानीहरूबीच ९ बुँदे सहमति भएको छ।
सोमबार यी दुई राजनीतिक शक्तिहरूबीच ९ बुँदे सहमति भएको हो।
‘सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै, २०८२ साल भदौ २३ र २४ को जेनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत् राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व साथै थरूहट/थारूवान अभियानीहरूबीच सहमति भएको छ,’ दुवै पक्षले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।
सहमतिका बुँदा
१) २०८२ साल भदौमा नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरूद्ध गरेको आन्दोलनको अपनत्व लिँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,
२) पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् समायोजन भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ’घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने,
३) राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावनामा उल्लेख गरिए बमोजिम ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनागत विभेदहरू विरूद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपभोग मा जोड दिँदै, नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध रहने,
४) बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै थारूहरूको धार्मिक–सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धन गर्न संविधानको धारा ५६ (५) को मर्म अनुरूप थारू बहुल क्षेत्रलाई थारू संरक्षित विशेष क्षेत्र’ घोषणा गर्न कानूनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने,
५) टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने,
६) निजामती, न्यायिक, प्रहरी लगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारूहरूको आरक्षण व्यवस्था अभ्यासमा पूर्णतः लागू गर्ने,
७) भूगोल, जनसंख्या, सामथ्र्य र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयामहरूमा सर्वदलीय राजनीतिक सहमतिका लागि पहल गर्ने,
८) नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरूहट/थारूवान अभियानीहरू पार्टीको तहगत संरचनामा सम्मानजनक समायोजन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउने,
९) राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने।