उज्यालो नेपाल पार्टीले फागुन २१ को आमनिर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा नवनियुक्त अध्यक्ष कुलमान घिसिङले गरेका छन्।
पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष अनुमोदन गरेपछि पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता टुटेपछि कुलमानले आफूलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका थिए। उनले आगामी दिनमा अन्य इच्छुक समूहहरूसँग सहकार्य गर्ने पनि बताएका छन्।
'हामी जुन हिसाबले रास्वपाबाट बाहिरिएका छौं, त्यसलाई हाम्रो कमजोर स्थिति नठानियोस्,' उनले भने, 'एकताको सहमतिमा इमान्दार हुन खोज्दा पनि जबर्जस्ती हामीलाई बाहिर राखियो। यस्तो अवस्थामा पनि हामी एक्लै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।'
उज्यालो नेपाललाई समावेशी पार्टीका रूपमा अगाडि बढाउने घोषणा पनि उनले गरे। यसका लागि थरूहट आन्दोलनमा लागेका नेताहरूलाई ठूलो संख्यामा पार्टीमा प्रवेश गराउन लागेको उनले जानकारी दिए।
आफूले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नेपाललाई लोडसेडिङमुक्त गराउन प्रमुख भूमिका खेलेको उल्लेख गर्दै उनले भने, 'मैले आम नेपाली जनतालाई उज्यालो दिने, हरेक घरमा बत्ती पुर्याउने काम गरेँ। त्यो कठिन काम थियो। १०५ वर्षमा हुन नसकेको काम ८ वर्षमै गरेँ। सधैं घाटामा भएको संस्थालाई नाफामा ल्याएँ। नेपाललाई बिजुली आयात गर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुर्याएँ।'
आगामी निर्वाचनमा आफ्नो पार्टीलाई एकचोटि अवसर दिए यस्तै परिवर्तन देशव्यापी रूपमा ल्याउने उनले बताए।
रास्वपासँगको एकता कसरी टुट्यो भन्नेबारे जानकारी दिँदै कुलमानले आफू साधारण सदस्य भएर बस्न तयार हुँदा पनि सहमति हुन नसकेको बताएका छन्।
'रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई समायोजन गरौं भनेको थिएँ, तर कुरा मिलेन,' उनले भने, 'संविधानका आधारभूत विषयमा सहमति कायम गर्न एउटा पूरक सम्झौता गरौं भनेको थिएँ, त्यसमा पनि रास्वपासँग कुरा मिलेन।'
वार्ता जारी रहँदा रहँदै रास्वपाले एकतर्फी रूपमा सहमति तोडेको उनले उल्लेख गरे।
'यो १२ दिन अत्यन्तै पीडादायक रह्यो। यस अवधिमा उज्यालो नेपालका शुभेच्छुक साथीहरूले धेरै पीडा बेहोर्नुपरेको छ। उनीहरूले हामीलाई सहमति कार्यान्वयन प्रक्रियामा इन्गेज गराएर ठाउँ ठाउँमा पार्टी प्रवेशका कार्यक्रम राखे,' उनले भने, 'हामी भने जेनजी आन्दोलनले जुन खालको नयाँ शक्ति चाहेको थियो, त्यसलाई सम्बोधन गर्न सकभर सहमति कार्यान्वयन होस् भन्ने चाहेका थियौं।'
आफूले रास्वपामा प्रधानमन्त्री वा पार्टी अध्यक्ष वा अन्य ठूलो पद केही नमाग्दा पनि रास्वपाले एकतर्फी रूपमा सहमति तोडेको उनले बताए।
'बाहिर कुलमानले प्रधानमन्त्री र पार्टी सभापति मागे भनेर हल्ला फैलाइएको छ, त्यसमा सत्यता छैन,' उनले भने, 'म आफै एउटा उपाध्यक्ष, त्यो पनि वरीयता क्रममा धेरै तल बस्न पनि तयार थिएँ। साधारण सदस्य मात्र बस्न पनि तयार थिएँ। सहमतिको चरणमा हाम्रा साथीहरूले ठूलो डिमान्ड राखेका थिएनन्। पदको बार्गेनिङ गर्यौं भन्ने भ्रम फैलाइयो, त्यस्तो केही गरेका थिएनौं।'
उज्यालो नेपाल पार्टीको शनिबार बसेको केन्द्रीय समिति बैठकले कुलमान घिसिङलाई अध्यक्षका रूपमा अनुमोदन गरेको हो। त्यही बैकठले निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरेको छ।
यसअघि रास्वपा सचिवालयको शनिबार दिउँसो बसेको भर्चुअल बैठकमा सभापति रवि लामिछानेले अधिकतम लचकता देखाउँदा पनि पार्टी एकता बचाउन नसकेको ब्रिफिङ गरेको एक सचिवालय सदस्यले जानकारी दिएका थिए।
'पार्टी एकताको पूर्ववत: सहमतिअनुसार अघि बढ्न मैले अधिकतम लचकता अपनाएको हुँ तर उज्यालो नेपालसँगको एकता हाललाई स्थगित गर्नुपर्ने अवस्था आयो,' सभापति लामिछानेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, 'पार्टी एकता सहमति बचाउन सकिनँ।'
ती सचिवालय सदस्यका अनुसार उज्यालो नेपालले पार्टीको नाम फेर्नेदेखि प्रत्यक्षतर्फ क्षेत्रहरू तोकेर आफूलाई चाहिनेसम्म अडान राखेको थियो। त्यसमा रास्वपा नेतृत्व मान्न तयार देखिएन।
'यो यो क्षेत्र नै चाहिन्छ भनेर माग्नुभयो, त्यो अहिले दिन सकिने कुरा भएन। समानुपातिकतर्फ पनि उहाँहरूको असन्तुष्टि रहेछन्,सिट तोकेर भागबन्डा गर्ने कुरा आयो। अहिले पार्टी एकताभन्दा पनि जितेर आएपछि एकता गरौंला भन्ने कुरा पनि आएका थिए,' ती सदस्यले भने, 'मेयर बालेन शाहलाई भन्दा कम केन्द्रीय समिति र पदाधिकारी स्वीकार्य छैन भन्नेजस्ता कुरा पनि आए।'
सचिवालय सदस्य शिशिर खनालका अनुसार हाललाई उज्यालो नेपालसँगको एकता स्थगित गर्ने सचिवालय बैठकले निर्णय लिएको छ।
यो पनि पढ्नुहोस्: