रूसी कच्चा तेल किनेर सबैभन्दा धेरै नाफा कमाएका भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले भेनेजुएलाबाट पनि तेल खरिद गर्न अमेरिकाको अनुमति मागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बनेका सबै सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएका छन्।
ट्रम्पले गत जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए।
त्यसपछि भारतले अझै रूसी कच्चा तेल किनिरहे अगस्टको अन्त्यदेखि लागू हुने गरी भारतबाट आयात हुने सबै सामानमा थप २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए।
भारतले रूसी तेल किन्न बन्द नगरेपछि गत वर्षको अगस्ट २७ देखि भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयनमा आएको छ।
त्यसरी भारतले रूसी तेल किन्दा मुकेश अम्बानीलाई सबैभन्दा फाइदा भएको थियो।
अहिले ट्रम्पले भेनेजुएलाका तानाशाह निकोलस मदुरोलाई सत्ताच्युत गरेर भेनेजुएला अमेरिकाले चलाउने भनेपछि अम्बानीको कम्पनीले फेरि त्यसबाट फाइदा लिन त्यहाँको कच्चा तेल किन्न खोजेको भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि पाँच करोड ब्यारेल तेल अमेरिकाले ढुवानी गर्ने बारेमा भेनेजुएलाको सरकारसँग वार्ता भइरहेको छ। यस्तोमा भेनेजुएलाको तेल प्रशोधन गर्ने अनुमतिका लागि रिलायन्सले अमेरिकी विदेश र अर्थ मन्त्रालयसँग छलफल थालेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिएका अम्बानीको भारतमा धेरैवटा कच्चा तेल प्रशोधन केन्द्र छन्। तीमध्ये गुजरातको जामनगरमा रहेको विश्वकै सबैभन्दा ठूलो प्रशोधन केन्द्र भेनेजुएलामा पाइने जस्तो बाक्लो खाले कच्चा तेल प्रशोधन गर्न उपयुक्त मानिन्छ।
ट्रम्पले पहिलो कार्यकालको अन्त्यतिर भेनेजुएलाको तेलमा कडा प्रतिबन्ध लगाउनुअघि भारतले ठूलो मात्रामा भेनेजुएलाबाट तेल किन्ने गर्थ्यो।
सन् २०२० मार्चमा समाप्त भएको भारतीय आर्थिक वर्षमा भारतले भेनेजुएलाबाट ६ अर्ब डलरको तेल किनेको थियो भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
ट्रम्पले दोस्रो कार्यकालको शुरूमा भेनेजुएलाको तेलमा लगाएको प्रतिबन्ध केहि खुला गरेपछि भारतले गत आर्थिक वर्षमा एक अर्ब ४० करोड डलर बराबरको कच्चा तेल आयात गरेको थियो।
अहिले ट्रम्पले मदुरोलाई हटाएर भेनेजुएलाको तेल व्यापारमा नियन्त्रण गर्ने भएपछि अम्बानीले फेरि भेनेजुएलाको तेल ठूलो परिमाणमा प्रशोधन गर्न पहल गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)