जेनजी अभियानी भावना राउतले नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन एउटा कार्यक्रम वा भाषणमा सीमित नभई पार्टीको आन्तरिक लोकतन्त्रबारे उठेको गम्भीर प्रश्न र सम्भावनाको संकेत भएको बताएकी छन्।
उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
'राजनीतिक रूपमा हेर्दा कांग्रेसले सुध्रिनु देशको लोकतान्त्रिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। किनकि लोकतन्त्र चलाउन, कम्तिमा एउटा दलले त आफ्नै संरचनाभित्र लोकतान्त्रिक अभ्यास गर्न सक्नुपर्छ,' भावना लेख्छिन्, 'यस सन्दर्भमा गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधित्व गरेको धार विद्रोह होइन, आन्तरिक जबाफदेहिता हो।'
पार्टीभित्र प्रश्न उठाउनु, नेतृत्वलाई उत्तरदायी बनाउनु र असहमतिको सम्मान गर्नु अनुशासनहीनता होइन, यो लोकतान्त्रिक दलको न्यूनतम मापदण्ड हो भन्ने उनको भनाइ छ।
'लोकतन्त्र बाहिर भाषणमा होइन, भित्र अभ्यासमा देखिनुपर्छ,' उनी लेख्छिन्।
उनी अगाडि लेख्छिन्, 'जब नेतृत्व प्रश्नबाट असहज हुन्छ र आलोचनात्मक आवाजलाई दबाउन शक्ति प्रयोग गर्छ, त्यही क्षण परिवर्तनको आवश्यकता झन् स्पष्ट हुन्छ। इतिहासले देखाएको छ, सत्ता सधैं प्रश्नसँग डराउँछ, तर लोकतन्त्र प्रश्नबाटै बलियो बन्छ। प्रश्न दबाउने संस्कृतिले दललाई जोगाउँदैन; उसलाई क्रमशः खोक्रो बनाउँछ।'
आइतबारको घटनाक्रमलाई अन्तिम जितका रूपमा बुझ्नु हतार भए पनि यसलाई चेतावनी र संकेतका रूपमा लिन सकिने उनी बताउँछिन्।
'दलहरूभित्रै नसुन्ने बानीले कमजोर हुन्छन्। आन्तरिक बहस, असहमति र आत्मालोचना जोगिन सकेन भने कुनै पनि पार्टी दीर्घकालीन रूपमा जनप्रतिनिधि रहन सक्दैन,' जेनजी अभियानी भावना राउतले भनेकी छन्, 'आज मनमा आशा जाग्नुमै सबै समस्या समाधान भयो भन्ने होइन, तर कसैले संस्थाभित्र उभिएर बोल्ने राजनीतिक साहस देखायो भन्ने हो।'
'यदि यही साहस टिकिरह्यो, यही अभ्यास संस्थागत भयो भने, यो नेपाली कांग्रेसका लागि मात्र होइन, देशकै राजनीतिक संस्कारका लागि पनि नयाँ सुरूआत हुन सक्छ,' भावना लेख्छिन्, 'लोकतन्त्र, प्रश्न गर्ने साहस र नागरिक चेतनाको जित होस्।'