नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनका लागि उम्मेदवार चयनमा रहेको परम्परागत प्रणाली अन्त्य गर्ने प्रस्ताव गरेका छन्।
कांग्रेस लगायतका राजनीतिक दलमा नेतृत्वले टीका लगाएर उम्मेदवारको टिकट दिने प्रथा रहिआएको छ। यसले नेता तथा कार्यकर्ता पंक्तिमा नेतृत्वप्रति वफादार रहनुपर्ने र नेतृत्वका गल्ती-कमजोरीमा पनि समर्थन जनाउनुपर्ने बाध्यता छ। यसले पार्टीभित्रको आन्तरिक सुशासनमा प्रश्न उठ्ने गरेको छ।
महामन्त्री शर्माले आन्तरिक सुशासनमा उठ्ने गरेको विषय सम्बोधन गर्न लोकप्रियता, योग्यता र न्यायको मिश्रणसहित उम्मेदवारी छनौटमा नयाँ पद्धति विकास गर्ने प्रस्ताव गरेका हुन्।
दोस्रो विशेष महाधिवेशनको जारी बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै महामन्त्री शर्माले लोकप्रियता, योग्यता र न्यायको मिश्रणसहित उम्मेदवार चयनको नयाँ पद्धति वकास गर्न प्राइमरी निर्वाचन गर्ने उनले बताएका छन्।
'प्राइमरी निर्वाचनमा पाइलट प्रोजेक्ट हुँदै क्रमशः पुग्ने गोदावरी महासमितिबाट पारित योजनालाई कार्यान्वयनमा लग्ने प्रतिबद्धता यो विशेष महाधिवेशन व्यक्त गर्छ,' शर्माको प्रतिवेदनमा भनिएको छ।
पार्टीको केन्द्रदेखि वडा–टोलसम्मका पदाधिकारी वा सदस्य तथा पार्टीका तर्फबाट विभिन्न तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको कार्यशैलीले सुशासनलाई कत्तिको बढावा दिएको छ भनेर अनुगमन गर्ने पद्धति पनि विकास गर्ने उनले बताएका छन्।
यसका लागि आन्तरिक सुशासन आयोग गठन गर्ने प्रस्ताव गरिएको छ। आयोगको कार्यविधि केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ।