राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्री घोषणा गरेर झापा-५ को उम्मेदवार बनाएको बालेन शाहले आफ्नो संसदीय राजनीतिको सुरूआत मधेसको राजधानी जनकपुरबाट मात्र गरेनन्, मैथली भाषामा भाषण दिएर मधेससँग अपनत्व पनि जाहेर गरे।
नेपाली कांग्रेसका सभापति गगन थापा पनि आफूले सधैं जित्दै आएको काठमाडौं-४ छाडेर सर्लाही-४ बाट चुनाव उठ्न गएका छन्। कांग्रेसबाट भावी प्रधानमन्त्री घोषित थापा संघीय राजधानी छाडेर मधेसको जनप्रतिनिधि बन्न आउनुलाई देशको पुरानो राजनीतिक पार्टीले मधेसमा आफ्नो प्रभाव बढाउन खोजेको रूपमा हेरिएको छ।
यी घटनाले मधेसको चुनावी माहोलमा कस्तो असर पारेका छन्? त्यहाँका मान्छे प्रमुख दलहरूले मधेसलाई दिएको महत्त्वबारे के भनिरहेका छन्?
यसै सन्दर्भमा हामीले राजनीतिक विश्लेषक तुलानारायण साहसँग कुराकानी गरेका छौं।
चुनाव लागेसँगै राजनीतिको केन्द्र मधेस सरेजस्तो भएको छ। तपाईंलाई कस्तो लागिरहेको छ? मधेसमा मानिसहरू के भनिरहेका छन्?
हो, यसपटकको निर्वाचनको 'ब्याटल ग्राउन्ड' मधेस प्रदेश भएको छ। मलाई व्यक्तिगत रूपमा रमाइलै लागिरहेको छ। कहिलेकाहीँ सपनाजस्तो पनि लाग्छ। किनभने, २० वर्षअघिको अवस्था र आजको समयबीच तुलना गर्दा सबै कुरा सपनाजस्तो लाग्छ।
यो माघ महिना हो। २०६३ को यही माघ महिनामा मधेसमा ठूलो विद्रोह भएको थियो। त्यही विद्रोहको परिणाम त हो, आज नेपाली राजनीतिको केन्द्रमा मधेस पुगेको छ।
त्यति मात्र होइन, भावी प्रधानमन्त्रीमा पनि मधेसी नाममाथि गम्भीरतापूर्वक चर्चा भइरहेको छ। मलाई लाग्छ, मधेस र मधेसी समुदायका लागि यो अविश्मरणीय प्रसंग हो।
जहाँसम्म आम मधेसीहरूले के भन्छन् भन्ने प्रश्न छ, त्यसमा मेरो बुझाइ सीमित हुन सक्छ। मैले जति मानिसहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुराकानी गर्न पाएको छु, लाग्छ यसपटकको निर्वाचनमा मधेसीहरूको मनमा अलिक फरक मुद्दा घुम्दैछ। जेनजी आन्दोलनले जसरी देशैभरि पुराना पार्टी र पुराना पुस्ताका नेताहरूप्रति प्रश्न उठायो, त्यो प्रश्न मधेसमा पनि उठेको छ। मेरो अनुमानमा मधेसका मानिसहरूले यसपटकको निर्वाचनमा पुरानो शैलीमा भोट हाल्दैनन् होला। अलिक नयाँ परिणाम आउँछ कि!
कस्तो नयाँ परिणाम?
जेनजी आन्दोलनले नेपाली राजनीतिको ल्यान्डस्केप नै परिवर्तन गरिदिएको छ। विगतमा जति पनि आन्दोलन, क्रान्ति वा विद्रोहहरू भएका थिए, ती सबैले नेपाली राज्य र राजनीतिमा रहेका संरचनागत समस्याको समाधान खोजेका थिए। तर जेनजी विद्रोह नेपाली राज्य र राजनीतिको कार्यशैलीमा रहेका समस्यामा सुधार खोजेको आन्दोलन हो।
सरकारी कामकारबाहीमा छिटोछरितो र सुशासन खोजेको एउटा एजेन्डा थियो भने राजनीतिमा पुस्तान्तरण अर्को एजेन्डा थियो। मधेस जेनजी विद्रोहको आधारभूमि थिएन, तर जनसांख्यिक हिसाबले उल्लेख्य जेनजी भएको समाज हो। त्यहाँ पनि सुशासन र पुस्तान्तरण नै निर्वाचनको एजेन्डा बनेको छ जस्तो लाग्छ मलाई।
मधेसमा यसपालि प्रस्तावित प्रधानमन्त्रीका रूपमा गगन थापा र बालेन शाह पुगे। पहिला गगन थापाको कुरा गरौं। उनी सभापति भएपछि मधेस आएका हुन्। सर्लाही–४ बाट निर्वाचन लड्न आउँदा उनलाई कति चुनौती छन् र समग्र मधेसमा यसले कांग्रेसलाई कस्तो असर गर्छ?
बालेनको मधेस जाने कार्यक्रम अलिक अगाडि नै तय भएको थियो। जुन दिन उनको सभा हुँदै थियो, त्यो दिन गगन थापा पनि सर्लाहीबाट चुनाव लड्ने समाचार आयो। मेरो लागि अनपेक्षित समाचार थियो त्यो। आश्चर्य पनि लाग्यो। तर अब त उम्मेदवारी नै दिइसकेको अवस्था छ।
जहाँसम्म दुवै जनाको नाम प्रस्तावित प्रधानमन्त्रीका रूपमा चर्चामा छ, त्यो फेरि मेरो लागि अर्को आश्चर्यको विषय हो।
नेपालको राजनीतिक इतिहास, सामाजिक यथार्थ र पूर्वप्रधानमन्त्रीहरूको सूची हेर्दा गगन थापाको नाम अस्वाभाविक लाग्दैन। नेपालमा अहिलेसम्म क्षत्री, ठकुरी वा बाहुन मात्र प्रधानमन्त्री भएको त सत्य हो नि! अहिलेसम्मको तथ्यांकले त्यही देखाउँछ। हामीलाई अस्वाभाविक नलाग्ने पनि त्यही भएर हो।
अर्को कुरा, उनको पार्टी सबभन्दा पुरानो, पटक पटक प्रधानमन्त्री बनाएको पार्टी हो। त्यस पार्टीका उनी सभापति हुन्। मैले मात्र होइन, धेरैले उनलाई भावी प्रधानमन्त्रीका रूपमा हेरेका छन्।
तर बालेन शाहको नाम काल्पनिकजस्तो लाग्छ। यसो लाग्नुमा पहिलो कारण त हतपत प्रधानमन्त्रीका रूपमा कुनै मधेसीको नाम सोच्न कसैले सक्दैन, मुख फोरेर बोल्न नसके पनि। दोस्रो, पार्टी पनि अत्यन्तै नयाँ छ। खासै संगठन नभएको।
बालेन आफै राजनीतिक व्यक्तित्व बनिसकेजस्तो लागेको छैन। तर जुन रूपमा उनको चर्चा चुलिएको छ, जनकपुरदेखि झापासम्म जसरी उनलाई हेर्न मान्छेको भिड उर्लिएको देखिन्छ, यो त सिनेमाको दृश्यजस्तो छ।
त्यसैले प्रधानमन्त्रीको उम्मेदवारको सन्दर्भमा हेर्दा गगन 'फ्याक्ट' जस्तो लाग्छ, बालेन 'फिक्सन' जस्तो!
जहाँसम्म सर्लाहीबाट गगन थापाको निर्वाचन परिणाम के होला भन्ने कौतूहल छ, त्यसमा मलाई कुनै 'कन्फ्युजन' छैन। उनी सजिलै जित्छन् जस्तो लाग्छ। तीनै कोणबाट हेर्दा।
पहिलो, जेनजी विद्रोहले जुन पुस्तान्तरणको एजेन्डा बोकेको थियो, उनी स्वयं युवा हुन्। पार्टी सभापति भएका छन्, जेनजी विद्रोहको मुद्दा स्वीकार गरेका छन्।
दोस्रो, सांगठनिक हिसाबले त्यस क्षेत्रमा जम्मा ४० वडा छन्, जसमध्ये कांग्रेस एक्लैले १९ वडा जितेको छ भने २० वटा वडामा दोस्रो स्थानमा थियो।
तेस्रो, सर्लाही कांग्रेसभित्रका तीन वटै खेमा उनको पक्षमा उभिएका छन्।
बाँकी सामाजिक पक्ष वा स्थानीयताका कुरा यसपटक चुनावी एजेन्डा बन्ने अवस्था देख्दिनँ म। स्थानीयदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा मधेस प्रदेशमा कांग्रेसको राम्रै उपस्थिति थियो। कांग्रेसभित्रका आन्तरिक घात–प्रतिघातका कुरा यसपटक त्यति धेरै नसुनिएकाले र उम्मेदवारहरूमा युवाहरूको बाहुल्य रहेकाले सम्भवतः कांग्रेसले ठूलो क्षति बेहोर्नु नपर्ला।
काठमाडौंमा हुर्केबढेका मधेसी युवा बालेन शाह पनि पहिलो चुनावी सभा गर्न जनकपुर पुगे। उनले मैथलीमा भाषण गरे। प्रस्तावित प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारेर मधेस आएको रास्वपालाई यो प्रदेशमा स्थापित हुन कति सजिलो छ?
गएको निर्वाचनमा रास्वपाले मधेसबाट अत्यन्त न्यून भोट पाएको उसको एजेन्डाको कारण हो। रास्वपाले नेपाली राज्यमा देखिएका बेथितिहरू (भ्रष्टाचार, बेरोजगारी, अविकास) बारे बोल्छ, तर राज्यबाट भएका वा हुने गरेका विभेदबारे बोल्दैन।
आम मधेसीले नेपाली राज्यबाट विभेद र बेथिति दुवै महसुस गरेका छन्।
दोस्रो, संघीयता, समावेशीता जस्ता कुरा जसलाई आम मधेसीले ठूलो उपलब्धिका रूपमा लिएका छन्, त्यसबारे रास्वपा अनुदार देखिएको थियो। त्यस कारण विगतमा त्यस पार्टीले मधेसबाट भोट नपाएको हो जस्तो लाग्छ मलाई।
यसपटक बालेनको जनकपुर सभाबारे सबैले देखेको कुरा हो। उनको क्रेज कसैबाट लुकेको छैन। तर सवाल के हो भने बालेनलाई हेर्न आएको भिड रास्वपाको भोटमा परिणत हुन्छ कि हुँदैन?
रास्वपाले पुराना सबै कमजोरीलाई थोकमै सुल्झाउने प्रयास गरेको छ। एक त पार्टी मधेसविरोधी होइन भन्ने देखाउन बालेनलाई मधेसी पोसाकमा जनकपुर उतारे र मैथलीमा भाषण गर्न लगाए। अर्को, रास्वपा संघीयताविरोधी पार्टी नरहेको स्पष्ट पार्न बालेनबाट प्रदेशलाई थप अधिकार दिलाउने बाचा गराए। यस अर्थमा रास्वपा निकै स्मार्ट देखिएको छ।
जेनजी विद्रोहपछिको माहोल, बालेनलाई प्रधानमन्त्रीमा प्रस्ताव, मधेसविरोधी नरहेको सन्देश, संघीयतालाई बलियो बनाउने बाचा — सबैबाट रास्वपालाई फाइदा त पुग्छ नै। मधेसमा उसको भोट बढ्नेमा कुनै शंका छैन।
मधेसमा यसपालिको चुनावमा दुईवटा क्षेत्रीय दल छन् — जसपा र जनमत पार्टी। मधेस आन्दोलनबाट स्थापित उपेन्द्र यादव नेतृत्वको जसपा पुरानो पार्टी हो। कांग्रेस र रास्वपाले मधेसमा सक्रियता बढाउँदा यसले जसपालाई कति दबाबमा पार्छ, वा पार्दैन?
तपाईंको बुझाइ सही हो। जसपाले पाउने मत मूलतः कांग्रेसकै थियो र छ। कांग्रेसमा नेतृत्व परिवर्तन भएको छ, तर जसपामा त्यसको कुनै छनक छैन। बरू ८३ वर्षको उमेरमा महन्त ठाकुरजी राष्ट्रियसभाका उम्मेदवार हुनुभएको छ।
यता रास्वपाको आफ्नै क्रेज छ। कांग्रेस जुन तयारीका साथ मधेस जाँदैछ, ती सबैले जसपालाई खास दबाब सिर्जना गर्ने हो। जुन प्रश्न देउवा वा ओलीमाथि थियो, त्यो प्रश्न उपेन्द्र यादव र महन्त ठाकुरमाथि पनि थियो नै, छ नै।
जनमत पार्टीले अघिल्लो चुनावमा प्रत्यक्षतर्फ एउटा मात्र सिट जित्यो। समानुपातिकतर्फ पाएको मतका आधारमा राष्ट्रिय दल बन्यो र मधेसमा राम्रो उपस्थिति बनाएको छ। उदाउँदै गरेको सिके राउत नेतृत्वको जनमत पार्टीलाई कांग्रेस, रास्वपा र तमलोपा मिसिएको जसपाले दबाबमा पारेजस्तो देखिन्छ। यो दबाब चिरेर जनमत पार्टी पहिलेभन्दा ठूलो बन्छ कि यसलाई अप्ठेरो पर्छ?
जनमत पार्टीमा पटक पटक विभाजन देखिएकै हो, तर नेताको तहमा मात्र विभाजन भएजस्तो लाग्छ। जनमत पार्टी भनेको एक जना सिके राउतको छत्रछायामा जन्मेको हो। उनको नाम र इमेजलाई टेकेर अगाडि बढ्ने हो।
मधेसमा जनमत पार्टीको जनाधार फरक खालको छ। मधेसी समाजमा उपेक्षा गरिएका सामाजिक समूहहरू, युवा पुस्ता र बिदेसिएका मानिसहरूको परिवारका मतदाता जनमत पार्टीको आधारशीला हुन्।
सिके राउत तुलनात्मक रूपमा युवा नै हुन्। राजनीतिमा नयाँ पनि छन्। पार्टीमा अनेक विभाजनका बाबजुद पनि उनको मत कायम रहने सम्भावना म बढी देख्छु, थोरै बढ्न पनि सक्छ। तर परिणामबारे अहिले नै धेरै कुरा भन्न गाह्रो छ।
दुई जना प्रस्तावित प्रधानमन्त्रीहरू मधेस झरेका छन्। एक जना मधेसी मूलका हुन् भने अर्को पहाडका। यसले मुलुकको राजनीतिक ध्यान मधेसतर्फ सर्दा राष्ट्रिय एकतामा कति सकारात्मक प्रभाव पर्छ, वा पर्दैन?
राष्ट्रिय एकताका कुरा अत्यन्तै अमूर्त कुरा हुन्। लामो समयसम्म उपेक्षित रहेको क्षेत्र र समुदायका आफ्नै समस्या हुन्छन्, आफ्नै प्रकारको मनोविज्ञान पनि विकास भएको हुन्छ। लामो उपेक्षापछि मधेस सबैको चासोको विषय बन्नु सकारात्मक पक्ष नै हो। मधेसको मतले राष्ट्रिय राजनीतिमा महत्त्व पाउनु पनि राम्रै हो।
विगतमा मधेसी राष्ट्रपति पनि भएकै हुन्। राष्ट्रपति वा प्रधानमन्त्री हुनु एउटा कुरा हो, तर समुदायका आधारभूत समस्याबारे राजनीतिक दृष्टिकोण बन्नु, राजनीतिक रूपमा समाधान खोजिनु अर्को पक्ष हो।
भोलि कुनै कारणले एउटा दलले बहुमत ल्याएर वा गठबन्धनमार्फत् बालेन वा गगन प्रधानमन्त्री बन्ने अवस्था आयो भने, उनीहरूलाई प्रधानमन्त्री बनाउन मधेसको पनि ठूलो स्वामित्व रहने देखिन्छ। त्यसले मधेसको आत्मविश्वास बढाउने र राष्ट्रिय राजनीतिमा मधेसको स्थान थप बलियो बनाउने सम्भावना कति छ?
मधेसी समुदायबाटै प्रधानमन्त्री नबने पनि विगतमा मधेसबाट, मधेसीकै भोट पाएर प्रधानमन्त्री बनेका अनेक उदाहरण छन्। गिरिजाप्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मका उदाहरण छन्। तर मधेसी समुदायले आफ्ना राजनीतिक समस्या समाधानका लागि आफैले पटक पटक विद्रोह गर्नुपरेको तथ्य पनि हाम्रोसामु छ।
कुनै पनि समुदायको आत्मविश्वास बढ्ने वा राष्ट्रिय राजनीतिमा हैसियत बढ्ने कुरा मतदाताको संख्याले होइन, बरू समाजमा राजनीतिक चेतनाको स्तर र समाजमा राजनीतिलाई हेर्ने दृष्टिकोणको स्पष्टताबाट मापन हुने हो। यस कोणबाट मधेसमा धेरै परिवर्तन भएको छ र अझै पनि मधेसी स्वयंले धेरै काम गर्न बाँकी छ जस्तो मेरो बुझाइ छ।
यो पनि पढ्नुहोस्: