आइतबार भएको राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा तीन जना प्रदेशसभा सदस्यले मतपत्रमा औंठा छाप लगाएको पाइएको छ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार कुल ७८ खसेको मतमध्ये तीन जना प्रदेशसभा सदस्यले मत पत्रमा औंठा छाप लगाएको फेला परेको हो।
अपाङ्गतर्फ प्रदेशसभा सदस्यले गरेको मतदानमा एउटामा औंठा छाप फेला परेको थियो भने एउटा स्वस्तिक छाप नै नलगाइ खसालेको अवस्थामा फेला परेको थियो।
त्यस्तै, अन्य समूह तर्फको एउटा मतपत्रमा पनि प्रदेशसभा सदस्यले हालेको मतमा औंठा छाप लगाएको फेला परेको थियो।
महिला समूहतर्फ पनि एउटा प्रदेशसभा सदस्य तर्फको मत पत्रमा औंठा छाप लगाएको अवस्थामा फेला परेको सूचना अधिकारी कुँवरले बताए।
प्रदेशसभा तर्फका ७८ जनाले गरेको मतदानमा तीन जनाले औंठा छाप लगाएको पाइएको हो भने अरू थप ३ मत बदर भई कुल ६ वटा मत बदर भएका थिए।
त्यस्तै स्थानीय तहतर्फ कुल २०८ जनाले मतदान गरेकोमा १० मत भएका थिए। जसमध्ये अपाङ्गतर्फ पालिका प्रमुख उपप्रमुखले गरेको ३ मत बदर भएको थियो। अन्य समूहतर्फ पालिका प्रमुख उपप्रमुखले गरेको ३ मत बदर भएको थियो। त्यस्तै महिला समूहतर्फ पालिका प्रमुख उपप्रमुखले गरेको ४ वटा मत बदर भएका थिए। स्थानीय तहतर्फ कुल १० मत बदर भएका थिए।
प्रदेशसभा तर्फका ७८ र थानीय तहतर्फ २०८ गरी कुल २८६ जनाले मतदान गरेकोमा कुल १६ मत बदर भएका थिए। प्रदेशसभा तर्फका ६ र स्थानीय पालिकाका १० गरी १६ मत बदर भएकामध्ये प्रदेशसभा सदस्यले गरेको मतदानमा ३ वटामा औंठा छाप फेला परेको हो।
सर्वसाधारण मतदाताले मतदान गरी निर्वाचित गरेका जनप्रतिनिधिले नै औंठा छाप लगाउने, खाली मतपत्रमा खसाउने, दुबै चुनाब चिन्हको बीचमा स्वस्तिक छाप लगाउने, डबल छाप लगाएका, चुनाव चिन्ह बाहिर छाप लगाएका जस्ता कमजोरी गरेको पाइएको सूचना अधिकारी कुँवरले बताए।
यसले मतदान शिक्षाबारे थप प्रचार प्रसार, व्यवहार ज्ञानको आवश्यकता खड्किएको कुँवरले बताए।
‘प्रदेश सभा सदस्यले नै औंठा छाप लगाएको घटना ठूलो शिक्षा हो,’ कुँवरले भने, ‘मतदाता शिक्षाको अभ्यास व्यावहारिक हुनुपर्छ भन्ने सन्देश पनि हो।’
कतिपय बदर मतपत्रहरूमा छाप खसेर पुन: छाप लागेको जस्तो देखिएको हुँदा थोरै लापरबाही देखिएको पनि उनले बताए।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस्ता कमीकमजोरी दोहोरिन नदिन तथा बदर मतको संख्या घटाउन राष्ट्रिय सभाको बदर मतलाई शिक्षाका रूपमा लिएर अगाडि बढ्नु पर्ने उनी ठान्छन्।