२०७९ को निर्वाचनमा नेकपा एमालेबाट रौतहट–३ मा उम्मेदवारी दिने भनेर टिकट लिएका प्रभु साहले अन्तिम समय स्वतन्त्र उम्मेदवारी दिए।
साहकै कारण त्यो क्षेत्रमा एमालेको उम्मेदवार कोही भएन।
उनले ३२ हजार ४३७ मत ल्याउँदा दोस्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २ सय मत ल्याएका थिए। माओवादीका रवीन्द्र पटेल ८ हजार ५ सय मतसहित तेस्रो स्थानमा रहे।
तत्कालीन कांग्रेस–माओवादी सत्ता गठबन्धनले साहलाई सघाउने निर्णय गरेको थियो। यो क्षेत्र माओवादीको भागमा परेको भए पनि उसले प्रभु साहलाई समर्थन गर्ने भनेको थियो।
५४ वर्षीय साह यो क्षेत्रमा आफ्नै विरासत जोगाउन पाचौं पटक चुनावी मैदानमा छन्। उनी मधेस प्रदेशमा प्रत्यक्षतर्फ २०६४ यता लगातार चुनाव जित्ने एक्ला नेता हुन्।
मधेस प्रदेशका आठ जिल्लामा २०६४ र २०७० को निर्वाचनमा ४८ निर्वाचन क्षेत्र थिए। २०७४ पछि ३२ निर्वाचन क्षेत्र छन्।
२०५४ सालमा एमालेबाट वडाध्यक्ष जितेका साह जनप्रतिनिधि हुदाँकै समय माओवादी सशस्त्र युद्धमा सामेल भएका थिए। उनले तत्कालीन पतौरा गाविस–१ मा वडाध्यक्ष जितेका थिए।
माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम संसदमा समेत उनी सांसद थिए।
पाँच पटक मन्त्री भइसकेका साह एमाले–माओवादी एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमालेमै बसेका थिए। एमालेमै बसेका कारण उनको सांसद पद समेत गुमेको थियो।
एमालेको दसौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका साहले २०७९ को निर्वाचनको मुखमा एमाले छाडेका हुन्।
उक्त निर्वाचन जितेपछि साहले आम जनता पार्टी (आजपा) गठन गरे। अहिले उनी आजपा अध्यक्ष छन्।
यसपटक साह आजपाकै तर्फबाट उम्मेदवार छन्। उनीसँगै कांग्रेसका रामकृपाल प्रसाद यादव, एमालेका कुन्दन प्रसाद कुसहवा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पुनम देवी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन्द्र पटेल उम्मेदवार छन्।
त्यस्तै, जनमत पार्टीबाट शेख प्रवेज आलम, जसपाबाट गोविन्द चौधरी सहित ४० जनाले उम्मेदवारी दिएका छन्।
यो क्षेत्रमा गजुरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका, गरूडा नगरपालिकाका तीन वडा (५, ६ र ७) पर्छन्।
त्यस्तै, देवाहीगोनाही नगरपालिकाका पाँच वडा (५, ६, ७, ८ र ९) र मौलापुर नगरपालिकाका ७ वडा (१, २, ३, ४, ५, ८ र ९) पर्छन्।
सुरूमा माओवादी, एमाले र त्यसपछि स्वतन्त्र हुँदै यसपालि आजपाको उम्मेदवार बनेकाले साहका हकमा विगतको मतपरिणाम विश्लेषणले धेरै अर्थ नराख्न सक्छ।
यो क्षेत्रमा पार्टीगतभन्दा उनको व्यक्तिगत प्रभाव नै धेरै देखिन्छ। किनभने, २०७४ को स्थानीय निर्वाचनमा साहकी श्रीमती रीना कुमारी साहले मौलापुर नगरपालिकाको मेयर जितिन्। त्यो बेला माओवादीबाट जितेकी रीना २०७९ मा फेरि विजयी भइन्। दोस्रो पटक जित्दा उनी एमालेकी उम्मेदवार थिइन्।
प्रभु साह मात्र होइन, उनकी श्रीमती रीनाले पनि दल परिवर्तनका बाबजुद चुनाव जितेकीले यो क्षेत्रमा उनीहरूको व्यक्तिगत प्रभाव बलियो देखिन्छ।
साहका समर्थकहरू उनले आफ्नो क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको बताउँछन्। उनको आफ्नो पालिका मौलापुरमा पनि धेरै विकास गरेको समर्थकहरूको दाबी छ।
स्थानीय स्तरमा कुनै समस्या पर्यो भने उनी सहयोगका लागि तत्काल उपस्थित हुन्छन् र आफूले नसके पनि सहयोगका लागि पहल गरिदिन्छन्।
पहिले यो क्षेत्र जिल्लाकै सबभन्दा अविकसितमा पर्थ्यो। तर साहले पूर्वाधार विकासमा राम्रो काम गरेका कारण अहिले अरू क्षेत्रभन्दा अघि बढेको छ।
आलोचकहरू भने प्रभु साहले आफ्ना विरोधीहरूसँग जस्तोसुकै दुश्मनी लिने गरेको बताउँछन्।